गोविन्द शर्मा
बाँके, पुस २६ गते । हुलाकी राजमार्गअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधिन पक्की पुल चालु आव २०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुलका पिल्लर र स्पाम निर्माण कार्य तीव्र रूपमा भइरहेको हो ।
साँघुरो पुल भएका कारण हाल सवारी साधनहरू पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यताका कारण सिधनियाघाटमा ११ मिटर चौडाइको पक्की पुलको निर्माण कार्य थालिएको हो ।
योजना प्रमुख भण्डारीले भन्नु भयो, “असारभित्रै पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी लक्ष्यसहित दिनरात काम भइरहेको छ, कार्यालयका तर्फबाट नियमित अनुगमन लगायतका अन्य काम भइरहेका छन् ।”
पुलमा ११ वटा पिल्लरमध्ये नौ वटाको निर्माण गरिएको छ । यसैगरी, १० वटा स्पाममध्ये ६ वटाको निर्माण कार्य गरिएको छ । ७ औं र ८ औं स्पामको काम तयारी अवस्थामा रहेको छ ।
सिधनियाघाटमा करिब डेढ दशक अघि निर्माण सम्पन्न भएको पुल साँघुरो भएपछि फराकिलो पुल निर्माण थालिएको हो । पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न हुने गरी सम्झौता भएको हो । पुलको लागत भ्याटसहित एक अर्ब १९ करोड रुपियाँ रहेको छ ।
सिधनियाघाटमा अब सात सय मिटर पुल र एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटर नदी नियन्त्रणको काम एक साथ सम्पन्न हुने योजना प्रमुख भण्डारीको भनाइ छ । यसैगरी, तीन सय मिटर ढलानको काम हुने छ । हालको ३५० मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण थालिएको हो ।