• २७ पुस २०८२, आइतबार

‘थारू संस्कृति र ज्ञान संरक्षण गर्न जरुरी’

blog

कविडाँडा साहित्य समाज चितवनको आयोजनामा थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठी । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, पुस २६ गते ।
आदीवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको विज्ञहरूले बताएका छन् । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरूले थारू समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताए ।

चितवनको इतिहासबारे अध्ययता प्रा.डा थोमस रमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपुरो हुने बताउनु भयो ।

“सबै समाजको इतिहास हुन्छ । वन, नदी र हावाको इतिहास हुन्छ । अहिले त्यसको अध्ययन हुन जरुरी छ । चितवनका थारूहरूले वन नदी र हावासँगको इतिहास बोकेको छ । यो जनतासमक्ष पुर्‍याउन जरुरी छ’’, उहाँले भन्नु भयो, “थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी छ ।’’

थारूका स्थानीय भाषा संस्कृतिको संरक्षण गर्न सकिए मात्रै पनि इतिहास संरक्षण हुने उहाँको भनाइ छ । सो अवसरमा बोल्दै मदन पुस्कार विजेता लेखक निलम कार्की (निहारिका)ले संस्कृति  र साहित्य एक आपसमा परिपुरक भएको बताउनु भयो ।

“साहित्य संस्कृतिसँग जोडिएको छ । संस्कृति नबुझी साहित्य लेख्न सकिँदैन’’, उहाँले भन्नु भयो । उहाँले इतिहास प्रति नेपालीको रुचि नहुँदा दुःख लागेको बताउनु भयो ।

“राजनैतिक परिवर्तनले संस्कृति विखण्डन भएको छ । तर संस्कृतिबारे खुला बहस गर्न पाएका छौं । यो ठुलो कुरा हो’’ उहाँले भन्नु भयो ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एल वि क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको धारणा राख्नु भयो । “पहिचान सबैभन्दा ठुलो कुरा हो । पहिचान संरक्षणमा सबै लाग्न जरुरी छ’’ उहाँले भन्नु भयो । कार्यक्रममा थारू संस्कृति ,समाज र साहित्यका सम्बन्धमा विभिन्न कार्यपत्रहरू प्रस्तुति गरिएको थियो ।