विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी प्रसूति गृह लोखरममा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शनिबार बिहान ९ बजेबाट सुरु भएको शिविर नेपाली सेना बरख गणको आयोजनामा तथा श्री नं. २७ फिल्ड गुल्म र छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिनु भयो ।
शिविरमा स्थानीय बासिन्दालाई सामान्य ओपिडी सेवा, आँखा उपचार, स्त्री तथा प्रसूति रोग सेवा, बालरोग सेवालगायतका स्वास्थ्य परीक्षण तथा आवश्यक निःशुल्क औषधी वितरण गरिने उहाँले बताउनु भयो ।
बरखगणका प्रमुख सेनानी चन्दको अध्यक्षतामा उद्घाटन गरिएको उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसहित करिब ७० जनाको उपस्थिति रहेको थियो । स्थानीयवासीले घर आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् ।