• २७ पुस २०८२, आइतबार

सप्तरीमा चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना हुने

blog

जिल्ला प्रशासन कार्यालय सप्तरी । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, पुस २६ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चार हजार दुई सय २२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचना अनुसार २०८२ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीको ४ निर्वाचन क्षेत्रमा खटाउन चार हजार दुई सय २२ जना निर्वाचन प्रहरी भर्ना गरिने बताउनु भएको हो ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सप्तरीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

गत बिहीबार प्रमुख जिल्ला अधिकारी पोखरेलले जारी गरेको सूचना अनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिन सक्ने बताउनु भयो ।

यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहने छ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपियाँ ४० पैसा दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपियाँ पारिश्रमिक प्रदान गरिने छ । साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा हस्ताक्षरित सूचना अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको बताउनु भयो ।

सप्तरीमा चार लाख ४६ हजार ४०२ जना मतदाता सङ्ख्यामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ जना रहेका छन् भने चार निर्वाचन क्षेत्रमा २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनु भयो ।