बिष्णुप्रसाद पोखरेल
दमक, पुस २६ गते । झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति साढे १० बजे गौरादह नगरपालिका–५ स्थित चान्दु खोला भित्री सडकखण्डमा बालुबथानबाट फकिढिपतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरमा अन्य व्याक्तिहरु पनि रहेका थिए ।
दुर्घटनामा ट्याक्टरमा सवार गौरादह–७ का ३५ वर्षीय महमद माजिमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार माजिमलाई दमक अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटनामा गौरादह–५ का ४९ वर्षीय सत्यनारायण राजवंशी, २३ वर्षीय संजित ऋषिदेव, २३ वर्षीय अभिजुल मियाँ र ३४ वर्षीय केलु मियाँ घाइते बनेका छन् । उनिहरुको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको र ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको खड्काले जानकारी दिनुभयो ।