कतै जान पनि साथीहरूको साथ खोज्ने बानीले कहिलेकाहीँ निकै झ्याउ गर्छ । आफूले चाहेको बेला उनीहरू फुर्सदमा हुँदैनन्, उनीहरूलाई सहज पर्दा आफ्नो समय मिल्दैन । कति पटक त सँगै जाने साथी नमिलेर कामै स्थगित गरेकी छु ।
अहिले पनि त्यस्तै भएको छ । श्वेताकी छोरीको बिहे । हिजोसमेत गरेर तीन पटक फोन आइसकेको छ ।
बिहान उसले फेरि सम्झाई, “बेलैमा आउनु है ! अरूले बहाना बनाउलान्, सबैलाई लिएर आउने जिम्मा तिम्रो ।”
नूपुरको खुट्टा मर्किएको छ । मीराको घरमा पूजा । दुवै नआउने भएकाले आफूले पनि नजाने बहाना धेरै सोचिसकेकी थिएँ तर हामी तीनमध्ये कोही पनि नगए श्वेताको मन दुख्ला भन्ने डर थियो ।
रिसेप्सन सोल्टी होटेलमा । प्रीतिभोज ५ बजे लेखिएको भए पनि तयार हुँदा र पुग्दा कम्तीमा ६ त बज्छ नै । ट्राफिक भए झन् ढिलो । ८ बज्नुअघि घर फर्किन सकिने छाँट देखिँदैन ।
हिउँदको साँझ ६ बजेपछि नै अँध्यारो झर्छ । सडकबत्ती बल्न थालेपछि अबेला बाहिर नबस्ने बानीले मेरो मन सधैँ अत्तालिन्छ ।
“मलाई सवा ६ तिर सोल्टी होटेल पु¥याइदिन्छौ ?” चिया पिइरहेकी छोरीलाई सोधेँ ।
“त्यहीबेला मेरो ‘भर्चुअल मिटिङ’ सुरु हुन्छ । पठाओ छँदै छ नि ! फर्कंदा फोन गर्नुस्, लिन आउँछु ।”
उसले पठाओ बोलाइदिई ।
एक्लै जाने सोचले मन अलि नर्भस थियो । साडी लगाउन मन लागेन । कुर्तासुरुवाल लगाएँ । बाटोमा त्यति धेरै जाम थिएन । छिट्टै पुगेँ । ट्याक्सीबाट ओर्लंदा पाहुनाहरू बुकी र उपहार बोकेर भित्र छिर्दै थिए । गेटमा श्वेतालाई देखिनँ । एकछिन त गलत भेन्यु पो आएँ कि जस्तो पनि लाग्यो । फोन निकाल्दै गर्दा उसले देखिहाली । बेहुली बसेको ड्यासबाट हात हल्लाउँदै आई ।
“खै त अरू ?”
साथीहरू आउन नसक्ने बताएँ ।
“जे होस्, तिमी आयौ । खुसी लाग्यो ।”
मलाई छोडेर ऊ फेरि व्यस्त भइहाली ।
टेबुलहरू भरिएका थिए । म एउटा खाली कुर्सीमा बसेँ । प्लेटमा थोरै फ्रेन्चफ्राई र बदाम लिएँ । पार्टीको पिक टाइम रहेछ, मान्छेको घुइँचो बढ्दै थियो । सरसर्ती भिडमा आँखा डुलाएँ– कुनै परिचित अनुहार देखिनँ । छिट्टै डिनर लिएर फर्किने सोच बनाएँ ।
त्यहीबेला कोकको गिलास समातेको एक जनाले छेउको खाली कुर्सी देखाउँदै सोध्यो,
“के म यहाँ बस्न सक्छु ?”
“बस्नुस् ।”
मेरो असहजता महसुस गरेर होला, उसले सोध्यो, “सायद एक्लै आउनुभएको ?”
मेरो हो भन्ने जवाफ पाएपछि उसले माहोल सहज बनाउन गफ सुरु ग¥यो ।
“म पनि एक्लै आएको । आयो, खायो अनि हिँड्यो– झन् रमाइलो ।” उसले क्रिस्पी वोंटन र फ्राइड माछा ल्याइदियो ।
“ननभेज चल्छ हैन ?”
“चल्छ, तर डिनरका लागि उठ्नै लागेकी थिएँ ।”
“पार्टीको खास भनेकै स्न्याक्स हो जस्तो लाग्छ मलाई । डिनर त नखाए पनि हुन्छ । बाई द वे, म भास्कर ।”
उसले हाँस्दै पुलुक्क मतिर हे¥यो ।
“म रिमा ।”
उसले पानीपुरीसमेत खोजेर ल्यायो ।
“ओहो, पानीपुरी ?” मेरो उत्साहपूर्ण स्वर सुनेर ऊ हाँस्यो,
“मलाई थाहा थियो, तपाईंलाई मन पर्छ ।”
एक प्लेट पानीपुरीपछि मन र पेट दुवै भरिए ।
“डिनर खान सकिएला जस्तो लागेन,” मैले भनेँ ।
“केही छैन, डेजर्ट मात्र खाने ।”
उसले खल्तीबाट चुरोटको बट्टा निकालेर एउटा सल्कायो ।
“सरी, तपाईं माइन्ड त गर्नुहुन्न ?”
चुरोट भएको औँला टाढा राख्दै उसले सोध्यो । मैले गर्दिनँ भनेँ । गफ बढ्दै गयो । उसका गफमा राजनीति, साहित्य, सङ्गीत र दर्शनसम्म मिसिएका थिए । आडम्बररहित उसको सहज बोली व्यवहारले मलाई पनि ऊसँग खुलेर कुरा गर्न कुनै अप्ठ्यारो लागिरहेको थिएन । बिनाव्यक्तिगत प्रश्न, बिनाअप्ठ्यारो–यति सहज संवाद सम्भव हुँदो रहेछ । कुरैकुरामा समय बितेको, थाहै पाइनँ ।
घडी हेरेँ । ८ बजिसकेको थियो ।
मेरो छटपटी देखेर उसले बसाइ सोध्यो । लगनखेल बस्ने थाहा पाएपछि उसले पु¥याइदिने प्रस्ताव राख्यो । मैले सहमति जनाएँ । छोरीलाई मेसेज गरेँ, “फर्कंदा साथीले पु¥याइदिन्छु भनेको छ ।”
भास्करले तेस्रो चुरोट निकाल्दा मेरो दृष्टिमा भएको अनिच्छा बुझ्यो जस्तो लाग्यो ।
“ओके, फाइन ।”
नसल्काइएको चुरोट बट्टाभित्र राख्दै उसले सुनौलो रङको लाइटर मतिर बढायो–
“किप इट विथ यु, ताकि म फेरि चुरोट नसल्काऊँ ।”
अचम्मसँग अलमल परेँ ।
“जाने बेला लिन्छु,” उसले सहजतापूर्वक भन्यो ।
हामीले नाम मात्रको डिनर लियौँ । डेजर्टमा दही र लालमोहन ।
“मजा आयो,” न्यापकिनले मुख पुछ्दै उसले भन्यो ।
“साँच्चै रमाइलो भयो । पार्टीमा एक्लै बोर हुन्छु भन्ने लागेको थियो तर त्यस्तो भएन,” मैले भनेँ ।
ऊ पार्किङतिर लागेपछि मैले श्वेतासँग बिदा मागेँ ।
उसले गाडी ल्याएर छेउमा रोक्यो । सिटमा बसेँ । म्युजिक अन गर्दै उसले सोध्यो,
“लागौँ ?”
“हुन्छ ।”
गाडी चल्यो । एरोमाको मिठो बास्ना, एसीको तातो र हल्का सङ्गीत । ऊ चुपचाप गाडी हाँकिरहेको थियो । पार्टीमा देखिएको छविभन्दा फरक– मौन र केही गम्भीर । ड्राइभिङका बेला कसैको नबोल्ने बानी हुन सक्छ, यही सोचेँ मैले ।
रातको समय गाडीका चाप थिएनन् सडकमा । स्ट्रिटल्याम्पको उज्यालोमा निदाउन थालेका घरहरू पछि छुट्दै थिए ।
“आजको पार्टी सम्झनलायक भयो,” उसले सुस्तरी भन्यो ।
“हो, मेरो लागि पनि ।”
लगनखेल आइपुग्दा उसले सोध्यो, “कहाँ रोकुँ ?”
“चौबाटोनिर ।”
उसले गाडी साइड लगायो । म ओर्लिएँ । बाहिर चिसो हावा चल्दै थियो ।
“ख्याल राख्नु होला,” झ्यालको सिसा आधा झार्दै उसले भन्यो ।
“थ्याङ्क यु,” मैले हात हल्लाएँ । गाडी मोडिँदै अँध्यारो सडकमा हरायो । जानुअघि उसले लाइटर फिर्ता मागेन, मैले पनि सम्झाइनँ ।
घर फर्किएपछि पर्स खोलेँ । फूलबुट्टा कुँदिएको सुनौलो मेटलको लाइटर त्यहीँ थियो– चिसो, शान्त, मौन ।
उसले बिर्सेर छोडेको हो कि जानाजानी, भन्न सकिनँ ।
मसँग न उसको नम्बर थियो, न त उसलाई खोज्ने कुनै बहाना ।
लाइटर फर्काउने बाटो पनि भएन ।
उसले सम्झला वा नसम्झला, त्यो उसको कुरा । मलाई भने उसको सम्झना धेरै पछिसम्म आइरहने छ । यो लाइटर नभएर उसले चुरोट पिउन छोड्ला भन्ने लाग्दैन । त्यो त मेरो मनको चाहना मात्र थियो ।
उसले छोडेको लाइटरले एउटा कुरा स्पष्ट पा¥यो ममा–
खुसी, बर्सौंको सम्बन्ध वा ठुला कुराबाट मात्र होइन,
कहिलेकाहीँ साना पल र सानै कुराबाट पनि पाइँदो रहेछ ।
लाइटर हातमा लिएर झ्यालछेउ उभिएँ ।
बालेँ– थोरै प्रकाश फैलियो ।
त्यसभन्दा बढी मन उज्यालिएको थियो ।
लाइटर पर्समै राखेँ ।
ममा बाँकी रह्यो– आगो होइन,
मन हलुका भएको न्यानो अनुभूति ।
एउटा आशा ।