• २७ पुस २०८२, आइतबार

विवश फेला नपर्दा परिवारमा चिन्ता

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), पुस २६ गते । गत असोज ६ गते बर्दियाको गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारू कर्णाली नदीमा गोहीको आक्रमणबाट बेपत्ता हुनुभयो । विवश हालसम्म फेला नपर्दा परिवारको बिचल्ली भएको छ । भैँसी चराउन गएका विवशलाई नदीमा भैँसी गएपछि फर्काउन जाँदा नदीको बिचमा गोहीले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शी जनक थारूले भैँसी खेद्दै गर्दा नदीको बिचमा गोहीले आक्रमण गरेर ढलाएको बताउनुभयो । 

गोहीको आक्रमणबाट बेपत्ता विवशको खोजबिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी दिनरात खटिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले निकुञ्जको हात्ती र मोटरबोटको सहायताले एक महिनाभन्दा बढी समयसम्म खोजबिन गर्दासमेत फेला नपरेपछि खोजबिन कार्य रोकिएको बताउनुभयो । स्थानीयवासीका अनुसार भारतको कैलाशपुरी बाँधमा समेत गएर खोजबिन गरिएको थियो । 

लामो समयसम्म पनि विवश फेला नपरेपछि खोजबिन टोली निराश भएको छ । खोजबिन गर्दा शवसम्म फेला नपरेपछि परिवारको बिचल्ली भएको छ । बुढेसकालको सहारा र घरमा कमाउने छोरा बेपत्ता भएपछि विवशकी आमा जलावती थारू अझै पनि शोकमा हुनुहुन्छ  । 

उहाँले बुवाको मृत्यु भएपछि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर विवश पैसा कमाउन ज्याला मजदुरी गर्न भारत र नेपालका विभिन्न स्थानमा जाने गरेको बताउनुभयो । परिवारको पालनपोषणको जिम्मेवारी पूरा गरेका विवश बेपत्ता भएपछि परिवारमा आर्थिक समस्या देखिएको छ । उहाँले भन्नुभयो, “सम्पत्तिको नाममा यहीँ घरबाससहितको तीन कट्ठा जग्गा छ, यो जग्गामा भएको उत्पादनले खान पुग्दैन ।” हाल विवशको परिवारमा आमा, विवशको श्रीमती र दुई वर्षकी छोरी रहेका छन् । 

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा सरकारले १० लाख राहत दिने व्यवस्था भए पनि विवशको परिवारले हालसम्म सो राहत पाउन सकेको छैन । राहत निर्देशिकामा भएको जटिलताका कारण विवशको परिवार राहत पाउनबाट वञ्चित भएको हो । निकुञ्जले विवशको शव फेला नपरेको र पोस्टमार्टम रिपोर्ट नभएको कारणले राहत दिन नसकिएको बताएको आमा जलावतीले बताउनुभयो । 

बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारले १० लाख रुपियाँ पाउँदै आएका छन् ।