• २७ पुस २०८२, आइतबार

जाडोको अचुक औषधी

blog

रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फल उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानु पर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीको राम्रो चलन हो । हामी प्रायः के बिर्सिन्छौँ भने, हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुकको झोल, तामा र बोडीको झोल पनि सुप नै हुन् ।

हामी रोटीसँग दाल, तरकारी खान्छौँ । विदेशी पाउरोटीसँग सुप खान्छन् । अस्ट्रेलियामा ‘पम्पकिन’ सुप भनेर उसिनेको फर्सी पानीमा हाली त्यसमा मखन र मरिच मिलाई खाने चलन छ । हामीकहाँ फर्सीको तरकारीमा भटमास, चना हाली घिउले झानेर भातसँग खाँदा पनि रोगसँग लड्ने शक्ति भएको खाना नै खाएको भन्ने बुझ्दा हुन्छ । पाकेको फर्सीको सुप त हाम्रै घरमा सजिलै बनाउन सकिन्छ ।

विभिन्नथरीका सुप बनाएपछि स्वाद अनुसार मसला, मरिच, टिमुर, जिम्बु, ज्वानो आदि हाल्न सकिन्छ । अहिले बजारमा विभिन्नथरीका प्याकेटको सुप पाइन्छन् । त्यस्तो सुपमा धेरै चिल्लो हुन्छ, रसायन पनि धेरै हालेको हुन्छ । प्याकेटका सुप पकाएर चिसो भएपछि ८–१० घण्टा वा एक रात फ्रिजमा राखिदिनुस् अनि फ्रिजबाट निकालेर हेर्नुस्, यसमा धेरै चिल्लो जमेको देखिन्छ । अध्ययनले भन्छ, त्यसरी धेरै चिल्लो पदार्थ भएको खाना प्रयोग गर्दा स्वाद त हुन्छ तर स्वास्थ्यमा समस्या पर्न सक्छ । यस्तो सुपको प्याकेट महँगो पनि हुन्छ ।

जाडोमा तातो खाना र तातो झोल पदार्थ सेवन गर्नु धेरै नै उत्तम हुन्छ । यो मौसममा विभिन्न प्रकारका तरकारी, दाल, चना, गहत आदिको सुपले शरीरमा पौष्टिकता र न्यानोपन दुवै प्रदान गर्छ । कतिपय मानिस सुप भन्नासाथ बजारमा पाइने प्याकेटमा बन्द सुप झन्ने सम्झन्छन् । यस्तै, सुप मिठो र तागतिलो हुन्छ भन्ने विचार गर्छन् । त्यस्ता प्याकेटको सुपभन्दा घरमै विभिन्न अन्न, तरकारी, दाल आदिको मिश्रणबाट बनाइएको सुप सस्तो र बढी स्वस्थकर हुन्छ ।

खाना चपाउन गाह्रो भएको व्यक्तिलाई पनि सुप खान सजिलो र स्वास्थ्यका लागि उत्तम हुन्छ । रुघाखोकी लागेर केही खान मन नलागेको बेला यो सुपमा अलिकति कागतीको रस हालेर अलि–अलि गर्दै पिउँदा पनि स्वस्थकर पोषण पाइन्छ । त्यसै गरी विभिन्नथरीका दाल, मास, गहत, चना, मुङ, मुसुरो आदि ६–७ घन्टा भिजाएर, त्यसलाई मिक्सरमा वा सिलौटामा मसिनो बनाई पिसेर कुकरमा सुप बनाए पनि हुन्छ । अथवा फलामको भाँडामा हालेर केहीबेर पकाएर, स्वाद अनुसार नुन, हिङ, गरम मसला, कागती हालेर खान पनि सकिन्छ । यसरी सुप बनाउँदा मुला, गाजर, काउलीको पात पनि मसिनो गरेर हाल्न सकिन्छ ।

स्थानीय रूपमा पाइने कुनै पनि हरियो तरकारी, दाल, गेडागुडीको सजिलोसँग सुप बनाउन सकिन्छ । दाल र अन्न पकाउनुभन्दा अघि भिजाउनु पर्छ । यसले गर्दा छिटो पाक्ने त हुन्छ नै साथै दाल पचाउन पनि सजिलो हुन्छ । विशेष गरी बालबालिकालाई जाडोबाट जोगाउन विभिन्न किसिमका तरकारी खुवाउनै पर्छ । यस समयमा खाना सजिलोसँग पच्ने हुनाले भोक पनि बढी लाग्छ । जाडोमा हामीले घरकै तातो खानेकुरा जस्तै तातो दुध, कागती र मह हालेको चिया, बनाएर खान सकिन्छ । हामीसँग सहजै सस्तो रूपमा उपलब्ध हुने यति धेरै खानेकुरा छन् जुन बालबालिका, वृद्धवृद्धा तथा अन्य आवश्यक पर्ने मान्छेलाई खान दिँदा स्वास्थ्यमा धेरै नै फाइदा हुने गर्छ । 

बालबालिकालाई रोटी, आलु, अन्डा, चिउरा, चना जस्ता खाजा बनाएर दिनु पर्छ । त्यस्तै, स्कुलमा टिफिनका रूपमा पनि यस्तै परिकार पठाइदिनु पर्छ । जाडोको बेलामा चाकु सक्खर आदिको प्रयोग पनि उपयुक्त हुन्छ । यस समयमा वृद्धवृद्धा र बालबालिकाको पोषणमा बढी ख्याल राख्नु पर्छ किनभने उनीहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ । शीतलहर चल्ने तथा घाम नलाग्ने दिनमा त तातो लुगा लगाएर, तातो पदार्थ पिइरहनुपर्छ । यसो गर्दा शरीरले चिसोसँग लड्ने शक्ति पैदा गर्छ । यो बेलामा पोषणसँगै न्यानो लुगाको प्रयोग पनि त्यत्तिकै महìवपूर्ण हुन्छ । विशेष गरी तातो लुगा नलगाउने बालबालिकालाई चिसो लाग्ने र छातीको सङ्क्रमण तथा निमोनिया हुने सम्भावना हुन्छ ।

प्रायः पातहरू फालिन्छ तर यस्तो पातमा धेरै सूक्ष्म पोषण तìव हुन्छन् । यसको साथै पातमा भएको रेसादार पदार्थले पेटको स्वास्थ्य राम्रो राख्न ठुलो भूमिका खेल्छ । रोगसँग लड्ने शक्ति बढाउन ‘पेटको स्वास्थ्य’ को ठुलो महत्व छ । पेटको स्वास्थ्य राम्रो भन्नुको अर्थ खाना राम्रोसँग पच्नु, कब्जियत नहुनु हो । चिनियाँले जाडो वा गर्मीमा खाने विशेष सुप ‘हटपट’ हुन्छ । त्यसमा सानो आँचमा विभिन्न तरकारी हाल्दै, अलि–अलि झोल निकाल्दै खाने चलन छ । यसका लागि विशेष भाँडो प्रयोग गर्छन् । त्यसै गरी बर्मिजले पनि खान्छन् ।

नेपालमा त्यस्तो ‘हटपट’ छैन तर पकाउँदा सानो आँचमा सुप बनाएर खाँदा खानेकुराको पोषण तìव नष्ट हुन पाउँदैन । हामीले खिर पकाउँदा सानो आँचमा दुध र चामल भिजाएर पकाएपछि पाक्दाखेरि काजु, नरिवल हाल्दा पनि मिठो पौष्टिक खाना हुन्छ । यसले पनि जाडोमा तागत दिन्छ । 

यसरी यस्तो वनस्पति सुकाउँदा सिधै घाममा सुकाउनु हुँदैन भन्ने हेक्का राख्नु पर्छ । घाममा सुकाउँदा त्यस्ता वस्तुमा रहेको भिटामिन ‘ए’ कम हुन जान्छ । साथै हरियो धनियाँ, पुदिना, करिपत्ता, तुलसी त सुकाएर पनि प्रयोग गर्न सकिन्छ ।

साना बालबालिका दाल र हरियो तरकारी खान चाहँदैनन् । यस्तो बेलामा दाल वा हरियो तरकारी पिसेर खानामा हाल्न पनि सकिन्छ । यसले गर्दा शरीरमा प्रोटिन पुग्छ । यसरी जाडोको बेलामा खाइने यी सुप अन्य बेलामा पनि प्रयोग गर्न सकिन्छ । यसले परिवारका सबै सदस्यको स्वास्थ्य राम्रो पार्न सहयोग गर्छ ।

कोदोको परिकार रोटी तथा सुप आदिको प्रयोग चिसोमा उपयुक्त हुन्छ । टुसा उमारेको दाल वा अन्न जस्तो– चना, गहु, तिल, सानो केराउ आदिको प्रयोग गर्दा शरीरलाई चाहिने प्रोटिन प्राप्त हुन्छ । विभिन्न किसिमका भिटामिन तथा पौष्टिक तत्व पनि यस्ता अन्नबाट पाइन्छ । टुसा उम्रिन गर्मीको मौसममा भन्दा बढी समय चाँहि लाग्ने हुन्छ । सुदूरपश्चिममा जाडोको बेलामा गहतको प्रयोग बढी गरिन्छ । यो प्रोटिनको राम्रो स्रोत हो । यसलाई दाल, तरकारी जेसँग मिलाएर पकाए पनि हुन्छ । 

गहतलाई भुटेर पिसेर बालबालिकाले खाने तरकारी, दाल, आदिमा मिसाएर दिन राम्रो हुन्छ । गहत भुटेर पिसेको पिठोलाई पानीमा हालेर नुन र चुकसहित उमालेर खाने चलन पनि छ । यसलाई सुदूरपश्चिममा घुर्रे भनिन्छ । उमालेको घुर्रे भातसँग खाँदा मिठो हुन्छ, तातो पनि हुन्छ । विभिन्न दालमा मिलाएर वा जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले फाइदा गर्छ । गहतलाई त्यस कारण पनि हामी विशेष खानेकुरा अर्थात् सुपर फुड पनि भन्ने गर्छौं । गुन्द्रुक, भटमास तथा आलु उमालेर भात, ढिँडो तथा रोटीसँग खाँदा शरीरमा ऊर्जा दिने, सूक्ष्म पोषक तत्व दिने तथा स्वादिलो पनि हुन्छ । 

जाडोको बेला नेपालको तराई भागमा उखुको रस पनि खाइन्छ/ पिइन्छ । यसमा बिरेनुन, मरिच हालेर खाँदा स्वादिलो हुन्छ । ऊर्जा पनि छिटै दिन्छ । मधुमेह भएका व्यक्तिले यस्ता फलफूलको रस पिउँदा निकै विचार गर्नु पर्छ । घरमा बनाएको सुन्तला, अनार, केराको रस पनि स्वास्थकर हुन्छ । रस बनाएर निस्केपछि छोक्रा चाहिँ फ्यालिदिने चलन छ । यस्तो छोव्रmामा पनि पर्याप्त सूक्ष्म पोषण तìव हुने भएकाले यिनलाई प्रयोग गर्नु पर्छ ।

जाडोमा विशेष गरी छाती, टाउको तथा खुट्टालाई चिसोबाट जोगाउनु पर्छ । जसका लागि न्यानो लुगा लगाउने गर्नु पर्छ । न्यानोका लागि महँगा लुगा नै चाहिन्छ भन्ने छैन फ्लाटिन, सुती आदिका बाक्ला कपडा लगाउन सकिन्छ । बच्चालाई राति सुत्दा तातो तेल लगाइदिने अनि वृद्धलाई हटवाटर ब्यागमा पानी राखेर ओच्छ्यानमा राखिदिने । गाउँघरमा हटवाटर ब्याग छैन भने ढुङ्गालाई आगोमा तताएर त्यसलाई कपडामा राम्रोसँग बेरेर राख्नु पर्छ । ढुङ्गा मात्रै राख्दा शरीर पोल्ने तथा ओच्छ्यानमा राख्दा पनि प्वाल पर्ने हुन सक्छ । 

जाडो मौसममा चिसो नलागोस् भनेर घरभित्र दाउरा, मकल, ग्यास बालेर बस्दा हावा आउने–जाने ठाउँ नहुँदा आगोबाट निस्किएको कार्बनमोनोअक्साइडका कारण निधन पनि हुने गरेको छ । त्यस कारण यस्ता कुरामा सजग रहेर कोठामा हावा जाने ठाउँ राखेर मात्र आगो बाल्नु पर्छ ।