रमेश विश्वकर्मा
गुल्मी, पुस २६ गते । नेपाली कांग्रेसको बिशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले आह्वान गरेको विधानअनुसारको विशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुन काठमाडौँ पुग्नुभएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
सभापति पन्थीका अनुसार यस जिल्लाका दुई वटै क्षेत्रका क्षेत्रीय सभापतिसहित जम्मा ५५ जना महाधिवेशन प्रतिनिधि हुन् । जसमा एक जनाले पार्टी परित्याग गरेका कारण यहाँ ५४ जना महाधिवेशन प्रतिनिधि छन् । विशेष महाधिवेशनका लागि यस जिल्लाबाट सुरुमा ४६ जनाले हस्ताक्षर गर्नुभयो । त्यो समयमा हस्ताक्षर नगर्नुभएका दुई जना महाधिवेशन प्रतिनिधि पनि विशेष महाधिवेशनका लागि काठमाडौँ पुग्नुभएको छ ।
विशेष महाधिवेशनको पक्षमा निर्भिकताका साथ एकताबद्ध भएर अगाडि बढ्नका लागि उहाँले जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । गुल्मी क्षेत्र नम्बर–१ मा क्षेत्रीय सभापतिसहित २८ जना महाधिवेशन प्रतिनिधिमध्ये एक जनाले पार्टी परित्याग गरेका कारण अहिले २७ जना महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । क्षेत्र नम्बर–२ मा क्षेत्रीय सभापतिसहित २७ जना महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।