• २७ पुस २०८२, आइतबार

शीतलहरबाट जोगिन न्यानो कपडा वितरण

blog

बर्दिवासका विपन्न गरिबलाई शीतलहरबाट बच्न न्यानो फाइबर सिरक र म्याट वितरण गर्दै । तस्बिरः अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), पुस २६ गते ।
महोत्तरी जिल्लामा पछिल्लो समय अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि त्यसको प्रत्यक्ष मारमा परेका विपन्न, असहाय तथा जोखिममा रहेका परिवारलाई लक्षित गर्दै लायन्स क्लब अफ बर्दिवास समाजले न्यानो फाइबर सिरक र म्याट वितरण गरेको छ । शीतलहरका कारण दैनिक जीवन कष्टकर बन्दै गएकाले राहतस्वरूप उक्त सामग्री वितरण गरिएको हो ।

लायन्स क्लब अफ बर्दिवास समाजले बर्दिवास नगरपालिका–२, १४, ७, ९ र ३ तथा गौशाला नगरपालिका–१ रामनगर क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका परिवारलाई राहत प्रदान गरेको छ । वितरण कार्यक्रममा विशेष गरी अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर परिवारलाई प्राथमिकतामा राखिएको क्लबले जनाएको छ ।

विगत करिब तीन सातादेखि निरन्तर रूपमा जारी शीतलहरका कारण तराई–मधेस क्षेत्रमा चिसोको प्रभाव अत्यधिक बढेको छ । पर्याप्त न्यानो लुगा, सिरक र सुरक्षित आवासको अभावमा विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकहरू स्वास्थ्य जोखिममा परिरहेका बेला लायन्स क्लब अफ बर्दिवास समाजले मानवीय दायित्व बोध गर्दै राहत वितरण अभियान सञ्चालन गरेको हो ।

लायन्स क्लब अफ बर्दिवासकी सचिव सुनिता बरालले क्लबमार्फत ८० घरधुरीलाई न्यानो फाइबर सिरक र म्याट वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहरका कारण दैनिक जीवन प्रभावित भएका तथा स्वास्थ्य जोखिममा परेका परिवारलाई लक्षित गरी राहत कार्यक्रम अघि बढाइएको हो । “चिसो बढ्दै जाँदा धेरै परिवार समस्यामा परेका छन् । उनीहरूलाई केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो ।

स्थानीयवासीहरूले क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले कठिन परिस्थितिमा ठुलो राहत मिल्ने बताएका छन् । उनीहरूका अनुसार शीतलहरको समयमा न्यानो सिरक र म्याट अत्यावश्यक सामग्री भएकाले प्राप्त सहयोगले चिसोबाट बच्न सहज भएको छ ।

लायन्स क्लब अफ बर्दिवास समाजले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विपन्न, असहाय तथा सङ्कटमा परेका समुदायका लागि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । स्थानीय तह, सामाजिक संघसंस्था र समुदायको सहकार्यबाट मानवीय सेवाका कार्यक्रम अझ प्रभावकारी बनाइने क्लबको भनाइ छ ।

त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका–६ का अत्यधिक चिसोबाट प्रभावित ४५ बालबालिका र परिवारलाई शुक्रवार न्यानो कपडासहितको झोला (कपडा किट) वितरण गरिएको छ ।

सेभ द चिल्ड्रेनले पिपरा गाउँपालिकाको अनुरोध र स्थानीय साझेदार संस्थासँगको सहकार्यमा उक्त सामग्री वितरण गरेको हो । वितरित गरिएको न्यानो सामग्री झोलामा थर्मस, ज्याकेट, स्वेटर, थर्माकोट, टोपी, मफलर, पञ्जा, मोजा विभिन्न १६ प्रकारका सामग्री समावेश छन् । यसैगरी सेभ द चिल्ड्रेनले सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ३, ५, ६ र ११ का चिसो प्रभावित ३ सय परिवारलाइ नगरपालिकाको अनुरोधमा कम्बल वितरण गरेको छ ।

गत पुस पहिलो सातादेखि बढेको चिसोका कारण घाम नलाग्दा र हुस्सु लाग्दा मधेशको जनजीवन प्रभावित भएको छ । स्थानीय सरकारले कठाङ्ग्रिदो जाडोका कारण विद्यालय बन्द गरेका छन् जाडोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

मधेशका विभिन्न स्थानमा प्रभावित समुदायका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा सहायता वितरण गरिरहेका छन् ।