• २७ पुस २०८२, आइतबार

अब म सक्दिनँ (कविता)

blog

हरेक आँखाका आँगनमा

सपनाको बिस्कुन सुकाउन

आफैँले आफूलाई ताल्चा लगाएर 

म बस्न सक्दिनँ ।

यहाँ न सही बाँकी छन् 

न गलतको फैसला नै हुन्छ ।

लाञ्छनाका तारेभिरहरू

अग्लिँदै जाँदा 

मेरो सपनाको बिउ हरायो ।

अब म

सगरमाथाको सिरानी राखेर 

आरामले सुत्न सक्दिनँ । 

अभावको बैसाखी टेकेर 

अब म जिउन सक्दिनँ । 

मलाई एक चिम्टी विश्वास चाहिएको छ

मेरो जिब्रो काटिरहेको हेरिरहेका छन् मान्छेहरू 

बोल्न नसकेका बोलीहरू

भुल्न नसकेका यादहरू

चाख्न नसकेका स्वादहरू

लिएर त्यो खरानीको डङ्गुर हेरेर

अब म बस्न सक्दिनँ । 

अब म सक्दिनँ ।