• २६ पुस २०८२, शनिबार

निर्वाचनको तयारीमा प्रधानमन्त्री सन्तुष्ट

blog

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूसँग । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २६ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी व्यवस्थित रूपमा गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो । 

निर्वाचन आयोगले गरेको काम कारबाहीका सवालमा सन्तोष व्यक्त गर्नुहुँदै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि स्रोतसाधन आवश्यक परेमा माग गर्न पनि आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । 

सो अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले व्यवस्थित निर्वाचन गराउन आयोग क्रियाशील रहेको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । 

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो । यस्तै निर्वाचन आयोगका आयुक्तद्वय जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।