• २६ पुस २०८२, शनिबार

सल्यानमा कृषि तथा सांस्कृतिक महोत्सव

blog

दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, पुस २५ गते । कोसेली घर निर्माणको लक्ष्यसहित सल्यानमा शुक्रबारदेखि महोत्सव सुरु भएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र श्रीनगरमा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्नुभयो । 

उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरण गरी आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नाराको साथ सुरु भएको महोत्सव आगामी माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।  

कार्यक्रममा प्रदेश प्रमुख जोशीले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा महोत्सवले नयाँ ऊर्जा थप्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले स्थानीय उद्यमी, कृषक तथा युवाहरुलाई आर्थिक गतिविधि अघि बढाउन र आत्मनिर्भरता हासिल गर्न महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै, पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सल्यानमा उत्पादित वस्तु प्रदर्शन र विक्री वितरणमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । हरेक विषयलाई नकारात्मक रुपमा मात्र हेरिने गरिएको भन्दै उहाँले नकारात्मक र सकारात्मक दुबै पक्ष केलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउन आवश्यक रहेकोमा जोड दिँदै उहाँले त्यसतर्फ सल्यान अघि बढेको बताउनुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य भिमप्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।  

आयोजकका अनुसार महोत्सवमा ७७ लाख रुपियाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ । साढे १२ लाख रुपियाँ बचत गर्ने लक्ष्य राखिएको छ । कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको र उत्कृष्ट कृषक तथा उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँगको समन्वयमा सम्मान तथा पुरस्कृत गरिने बताइएको छ ।