काठमाडौँ, पुस २५ गते । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा शुक्रबार भएको क्वाटरफाईनलमा सप्तरीका बिुष्णु कटुवाल, आर्मीका बिधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाईनलमा स्थान पक्का गर्नुभएको हो । बिष्णुले एपिएफका भोजबहादुर गुरुङ्गलाई २१–१७, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो ।
यस्तै बिधानले पुलिसका जीवन आचार्यलाई २१–१३, २१–१३ को सोझो सेटमा पराजित गर्नुभयो । प्रफुल र पुलिसका पूर्ण थापाबिच भएको खेलमा प्रफुलले २१–८, २१–७ को जित निकाल्दै क्षितिजसँगको भेट पक्का गर्नुभएको हो । क्षितिजले आर्मीका नरेन्द्र बमलाई २१–१९, २१–७ ले पराजित गर्नुभयो ।
महिला एकलतर्फ तीन संस्करणकी विजेता रसिला महर्जनले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो । रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठ माथि २१–१२, २१–११ को जित निकाल्नुभयो ।
सेमिफाइनलमा रसिलाले आर्मीकी रिहाना सेरचनसँग खेल्नुहुनेछ । सेरचनले पुलिसकी निता लम्साललाई २१–२३, २१–१३, २१–१४ ले पराजित गर्नुभयो ।