काठमाडौँ, पुस २५ गते । आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले वाइड–स्पेस इन्टरनेसनल प्रालिका नाममा जारी भएको प्यान नम्बर लगायतका कागजातको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रुपमा ईसेवा मचेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०३ रुपियाँ र ईसेवाबाट ५६ लाख ३१ हजार ६०३ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।
प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. ७ स्थायी वतन भएका उप्रेतीलाई पक्राउ गरी बैकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
उनीसँगै ल्यापटप एक थान, विभिन्न मोेडेलका मोबाइल दुई थान, एनसेल सिम कार्ड १६ थान, नमस्ते सिम कार्ड तीन थान, स्मार्ट सिम कार्ड एक थान, पेन ड्राइभ एक थान र मेमोरी कार्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।