काठमाडौँ, पुस २५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मन्त्री डा.गौतमले स्वास्थ्य बीमा सुधारसम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्य बिमा कसरी दिगो पार्ने भन्ने विषय सबै सरकारले प्राथमिकतामा राख्ने गरेको बताउनुभएको हो ।
उहाँ भन्नुहुन्छ,“स्वास्थ्य बिमा कार्यक्रम राज्यको प्राथमिकतामा परेन, राज्यबाट आर्थिक सहयोग सोचेको जति गरेन भन्न मिल्दैन । यो कार्यक्रमको आवश्यक भएर नै ऐन, नियम कानुन बनाएर अगाडि बढाएका हौँ ।त्यसैले सबै सरकारको प्राथमिकतामा यो कार्यक्रम पर्ने गरेको छ ।”
उहाँले आफू मन्त्री भएर मन्त्रालयको जिम्मेवारी समालेदेखि नै बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेर सुधारका लागि विभिन्न निकायसँग छलफलका गर्दै आएको प्रष्ट पार्नु भयो ।
उहाँले गत आर्थिक वर्षमा सरकारले बिमा कार्यक्रमको लागि २४ अर्ब रकम खर्च गरेको बताउँदै यो स्वास्थ्य मन्त्रालयको २४ प्रतिशत बजेट भएको जिकिर गर्नुभयो ।
अहिले सरकारलाई चारै तिरबाट आर्थिक भार परेको भन्दै यस्तो बेलामा पैसा माग्न सहज नभएको बताउँदै आर्थिक चुनौतीका बावजुत बिमा कार्यक्रमलाई दिगो कसरी बनाउने भन्ने विषयमा सोच्नु पर्ने बेला आएको बताउनुभयो ।
उहाँ भन्नु हुन्छ, “सरकार पनि जनताको करबाट चल्ने हो।पैसा बढाउने देशको परिस्थिति छैन।सरकारलाई चारै तिरबाट आर्थिक चाप परेको छ ।यस्तो बेलामा पैसा माग्न सहज छैन।बिमा कार्यक्रममा नै कतै सुधार गर्न सकिन्छ कि त्यो खोज्नुपर्छ ।” सरकारसँग पैसा माग्नको लागि बलियो आधार लगेर जानुपर्ने भएकाले बलियो आधार तयार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले सरकारले बिमा कार्यक्रममा खर्चको सिमा तोक्न नहुने उल्लेख गर्नुभयो।सरकारले दिने योगदान, बिमितबाट उठेको प्रिमियम भन्दा दाबी रकम बढी आएकोले यो समस्या बढ्दै गएको उहाँले जिकिर गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, “बिमा कार्यक्रम राम्रोसँग सञ्चालन गर्ने हो भने सरकारले खर्चको सिमा तोक्नु हुँदैन।बिमा बोर्डले आफ्नो क्षमता भन्दा बढी भार बोक्न खोजेकोले अहिले यो समस्या देखिएको हो। ”
बिमा बोर्ड नाफा कमाउने संस्था नभएको उहाँले प्रष्ट पार्दै उहाँले बिमा विशुद्ध समाजिक सुरक्षा कार्यक्रम रहेको उहाँको भनाइ छ। हाल देशका २१ प्रतिशत जनसंख्या स्वास्थ्य बिमामा आवद्ध छन्।बिमित मध्ये ४२.३ प्रतिशतले सेवा लिएका छन् ।
अन्तराष्ट्रिय मान्नेता अनुसार बिमित मध्ये १० देखि १५ प्रतिशतले सेवा लिए मात्र बिमा कार्यक्रमलाई दिगो बनाउन सकिने उहाँ बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “अन्तराष्ट्रिय मान्नेता अनुसार बिमित मध्ये १० देखि १५ प्रतिशतले सेवा लिए मात्र बिमा कार्यक्रमलार्य दिगो बनाउन सकिन्छ ।तर, नेपालमा बिमित मध्ये ४२.३ प्रतिशतले सेवा लिएको देखिन्छ ।”