सिराज खान
नेपालगन्ज, पुस २५ गते । बाँकेको जानकी गाउँपालिका –२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठवटा जनावर जलेर मरेका छन् ।
ती जनावरसँगै सो घरमा राखिएको करिब ११ क्विन्टल गहुँ पनि जलेर नष्ट भएकाले नौ लाख रुपियाँ बराबरको क्षति भएको घरधनि भगवानदिन यादवले बताउनुभयो ।
उहाँले शुक्रबार विहान करिब १ बजेतिर कसैले आएर घरमा आगलागी गरेर फरार भएको जनाउँदै घर गोठ जलेर खरानी भइसकेपछि मात्र आफुहरुले थाहा पाएको र कसले लगाएको हो सोबारेमा केही थाहा नभएको बताउनुभयो ।
आगलागी भएको घरमा बिद्युत नरहेकाले आगलागी आफै नभइ कसैले गरेको आशंका गरिएको यादवले बताउनुभयो । उहाँले दुध दिने भैंसीहरु जलेर मरेकाले आफ्नो व्यवसाय नै समाप्त भएको दुखेसो गर्नुभयो ।
उता, जिल्ला प्रहरी कार्यालय बाँकेले आगलागीको घट्नाबारे जानकारी आउनसाथ प्रहरीले घट्नास्थलमा पुगेर मुचुल्का बनाउनुका साथै सोधपुछ गरेर आगलागीबारे जानकारी लिएको जनाएको छ ।
घट्ना कसरी भयो भन्ने बारेमा पनि गहिरिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो ।