• २६ पुस २०८२, शनिबार

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

blog

अलेप्पो (सिरिया), पुस २५ गते । उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूबिच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ । मन्त्रालयका अनुसार शेख मकसौद, अचराफिह र बानी जैद क्षेत्रमा बिहान ३ बजेदेखि युद्धविराम लागु भएको हो ।

सरकारी विज्ञप्तिमा सशस्त्र समूहलाई छ घण्टाभित्र ती क्षेत्र छाड्न निर्देशन दिइएको छ । क्षेत्र छाड्ने लडाकूलाई आफ्ना व्यक्तिगत हल्का हतियार बोकेर जान अनुमति दिने र उनीहरूलाई कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) को नियन्त्रणमा रहेको उत्तरपूर्वी क्षेत्रमा सुरक्षासहित पुर्‍याइने उल्लेख गरिएको छ ।

अलेप्पोका गभर्नर अजाम अल-घारिबले सुरक्षा बलका साथ रातभर विवादित क्षेत्रको निरीक्षण गर्नुभएको छ । तर एसडिएफतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन र अलेप्पोमा रहेका कुर्दिश बल सम्झौतामा सहमत भएका छन् वा छैनन् भन्ने अझै स्पष्ट छैन ।

सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गर्दै सिरियाली सरकार, एसडिएफ, स्थानीय अधिकारी र सामुदायिक नेताले देखाएको संयम र सद्भावप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अमेरिकाले छ घण्टाको समयसीमाभन्दा बाहिर पनि युद्धविराम कायम राख्न सबै पक्षसँग काम गरिरहेको छ ।

मङ्गलबार गोलाबारी र ड्रोन आक्रमणबाट सुरु भएको झडपका कारण करिब एक लाख ४२ हजार मानिस विस्थापित भएका छन् । दुवै पक्षले एकअर्कामाथि हिंसा सुरु गरेको, नागरिक बस्ती, एम्बुलेन्स र अस्पताल जस्ता पूर्वाधारलाई जानाजानी लक्षित गरेको आरोप लगाएका छन् । कुर्दिश पक्षका अनुसार कुर्द बहुल क्षेत्रमा कम्तीमा १२ सर्वसाधारणको ज्यान गएको छ भने सरकारी अधिकारीले सरकार नियन्त्रित क्षेत्रमा कम्तीमा नौ सर्वसाधारण मारिएको बताएका छन् । 

दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् तर लडाकू मृतकको यकिन विवरण सार्वजनिक भएको छैन । यो झडप केन्द्रीय सरकार र एसडिएफबिचको राजनीतिक वार्ता अवरुद्ध भइरहेका बेला भएको हो । अन्तरिम राष्ट्रपति अहमद अल-साराको नेतृत्वमा दमास्कस प्रशासनले गत वर्ष मार्चमा एसडिएफलाई सन् २०२५ को अन्त्यसम्म सिरियाली सेनामा समायोजन गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो, तर त्यसको कार्यान्वयन प्रक्रियामा अझै सहमति जुट्न सकेको छैन ।

डिसेम्बर २०२४ मा भएको विद्रोही आक्रमणपछि पूर्वराष्ट्रपति बशर अल-असदको पतनसँगै गठन भएको नयाँ सिरियाली सेनामा समावेश केही गुट पहिले टर्की समर्थित थिए, जसको कुर्दिश बलसँग लामो समयदेखिको वैमनस्य छ । एसडिएफ इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा वर्षौदेखि अमेरिकाको मुख्य साझेदार रहँदै आएको छ, तर टर्कीले एसडिएफलाई कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) सँग जोडिएको भन्दै आतङ्कवादी सङ्गठनका रूपमा हेर्ने गरेको छ ।

यद्यपि एसडिएफप्रति अमेरिकी समर्थन कायम रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दमास्कसको नयाँ सरकारसँग पनि सम्बन्ध विस्तार गर्दै एसडिएफलाई मार्च सम्झौता कार्यान्वयन गर्न दबाब दिइरहेको देखिन्छ । रासस/एपी