• २६ पुस २०८२, शनिबार

कांग्रेस विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत प्रतिनिधि सहभागी हुने

blog

बेनीमा कांग्रेसको कार्यक्रम । फाइल तस्बिर ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस २५ गते । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समर्थन गरेको विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छन् । 

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाण्डौंको भृकुटी मण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । 

म्याग्दीबाट १६ जना महाधिवेशन प्रतिनिधिले यसअघि नै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गरेका सबै प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो । कतिपय महाधिवेशन प्रतिनिधिहरु काठमाडौं पुगिसेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘विशेष महाधिवेशनका पक्षमा यसअघि समर्थन गरेर हस्ताक्षर गरेका सबैजना महाधिवेशनमा भाग लिनुहुनेछ । अन्य केही प्रतिनिधिहरु पनि सम्पर्कमा आएका छन् । विशेष महाधिवेशनलाई समर्थन गर्ने प्रतिनिधिहरुको संख्या अझै बढ्ने अपेक्षा गरेका छौं ।’’

जेनजी आन्दोलनपछि पार्टी रुपान्तरणका पक्षमा कार्यकर्ताहरु भएकाले अहिलेको विशेष महाधिवेशन अनिवार्य भएको उहाँको भनाइ थियो । सचिव रकालले पार्टी नेतृत्व अब युवाको काँधमा ल्याउन पनि विशेष महाधिवेशनलाई सफल पार्नुपर्ने बताउनुभयो ।

जिल्ला सभापति खमबहादुर गर्बुजा(खम्बिर) भने पार्टीको संस्थापन तर्फ लाग्नुभएको छ भने संविधानसभा सदस्य समेत रहनुभएका पूर्व जिल्ला सभापति रेशमबहादुर बानियाँ विशेष महाधिवेशनका पक्षमा खुल्नुभएको छ । पार्टीका केही युवा नेताहरु पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन् ।