नारद कोहार
तौलिहवा(कपिलबस्तु), पुस २५ गते । खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न सरोकारवालाहरुले जाेड दिनुभएकाे छ । खाद्य स्वच्छता तथा सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको समन्वयमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीको आयोजनामा गरिएको हो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उपभोग्य वस्तुको गुणस्तर र स्वास्थ्यमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले उत्पादनदेखि बजारसम्म गुणस्तर कायम गर्न नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमकी अध्यक्ष तथा निर्देशनालयकी शारदा बस्याल बेल्बासेले खाद्य स्वच्छता समाजको साझा सरोकार भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मीले उपभोक्ताले गुणस्तरप्रति सचेत रहनुपर्ने बताउँदै होटल तथा खाद्य व्यवसायीले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले उपभोक्ता आफैं सचेत नभएसम्म बजार अनुशासन सम्भव नहुने उल्लेख गर्दै यस क्षेत्रमा राज्यका निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निर्देशनालयकी अध्यक्ष शारदा बस्याल बेल्बासे र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख राजेन्द्रसिंह लोधले खाद्य गुणस्तर, सुरक्षा मापदण्ड तथा नियमन प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन विनयकुमार पुडासैनीले गरेका थिए । कार्यक्रममा पर्यटन व्यवसायी, नागरिक समाजका, बेकरी, मिठाई पसल, होटल तथा रेस्टुरेन्ट व्यवसायी, उपभोक्ता प्रतिनिधि लगायतको सहभागिता थियो ।