• २६ पुस २०८२, शनिबार

निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने

blog

फाइल तस्बिर ।

जयकृष्ण यादव 

इनरुवा, पुस २५ गते । आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जिल्लामा आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । 

निर्वाचन प्रहरी भर्ना गर्नका लागि समितिले जारी गरेको सूचना अनुसार जिल्लामा नेपाल प्रहरीतर्फ तीन हजार १४९ र  सशस्त्र प्रहरी बलतर्फ ४२९ जना जना गरि कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परीचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधी–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले यस जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

समितिले पुस २५ शुक्रबारदेखि माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल हेडक्वाटर नम्बर ४ वाहिनी इनरुवामा आवेदन दिन पाइनेछ । निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

त्यस्तै शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ४ फिट १० इन्च, तौल ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको÷नरहेको हुनुपर्ने उहाँले बताउनुभयो । 

निर्वाचन प्रहरी छनोट गर्नका लागि प्राथमिकताका आधारहरु राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वनरक्षक भएका हुनुपर्नेछ । 

नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको हकमा प्रवेशपत्र पेश गर्ने व्यक्ति, यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक हुनुपर्ने बताइएको छ । 

सुनसरीमा चार निर्वाचन क्षेत्र छ भने यस जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम छ । जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदानकेन्द्र कायम गरिएको छ ।