सिन्धुपाल्चोक, पुस २५ गते । सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।
मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तिलगङ्गा आँखा अस्पतालका आँखारोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनीहरू खुसी भएका छन् ।
यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको आयोजना तथा मेलम्ची नगरपालिकासँगको समन्वयमा शल्यक्रिया शिविर सम्पन भएको हो । रासस