ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २५ गते । म्याग्दीमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
धवलागिरी कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाका कारण दरबाङ–ताकम–मुना सडकअन्तर्गत दाङखोला मोटरेबल पुल निर्माण योजना अलपत्र पारेको भन्दै बिहीबार जनप्रतिनिधि र सरोकारवालाहरुले जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अवरुद्ध पारेका हुन् ।
मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको सिमानास्थित दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने योजना जलविद्युत् आयोजनाका कारण वर्षदेखि अलपत्र बनेपछि धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीहरुले जलविद्युत् आयोजनाको निर्माण कार्यलाई रोक लगाइएको धवलागिरी गाउँपालिका ७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्षहरु अशोक खत्री, देवेन्द्र रोका, अकप्रसाद बिक, कार्यपालिका सदस्य नरकुमारी बुढाथोकी, राजनीतिक दलका स्थानीय नेताहरु, अगुवा र सङ्घसंस्थाका प्रतिनिधिहरुले मालिका गाउँपालिका–६ गोज्जास्थित आयोजनाको अडिट र इल्पुमा पुगेर आयोजनाको निर्माण कार्यलाई अवरुद्ध पारेका छन् । उनीहरुले माग पूरा नभएसम्म आयोजना निर्माणलाई अगाडि नबढाउन चेतावनी दिएका छन् ।
दरवाङ–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका वडा–५ र धवलागिरी गाउँपालिका वडा –७ को सिमाना दाङखोलामा मोटरेबल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबिच २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार चार सय ५७ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तर जलविद्युत् आयोजनाका कारण उक्त पुल निर्माण योजना अलपत्र पर्दै आएको छ ।
दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुवान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटरमाथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनालेनै पुल बनाउने सहमति भएको थियो । पुल बनाउने सहमति गरेपनि पुल बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि नबढाएपछि जलविद्युत् आयोजनाको निर्माणलाई अवरुद्ध पारेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
उहाँका अनुसार २०७६ असोज ५ गते धवलागिरी, मालिका गाउँपालिकाका जनप्रतिनिधि, आयोजना र पूर्वाधार विकास कार्यालय तथा स्थानीयवासीहरुको उपस्थितिमा भएको बैठकले सरकारी पक्षबाट पुल निर्माण नभएमा दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले बनाउने सहमति भएको उहाँको भनाइ छ ।
धौलागिरी कालिका हाइड्रोका सञ्चालक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माण स्थल इल्पुमा सारिएको र मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिनुभयो ।