स्याङ्जा समाचारदाता
स्याङ्जा, पुस २५ गते । सडक कालोपत्रे गर्नुपर्ने समय नाघेको एक वर्र्षपश्चात् घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडाखण्ड अन्तर्गत झन्डै आठ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो ।
ट्र्याक खोलेको करिब २५ वर्षपछि घुम्ती–चिसापानी सडकको दोस्रो खण्ड कालोपत्रे गरिएको छ । सम्झौता भएको २७ महिनामा सडक कालोपत्रे सक्ने गरी २०७९ असार १९ गतेबाट निर्माण कम्पनीले काम थालेको थियो । टुन्टी आरएस जेभी निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपियाँमा सडक निर्माणको जिम्मा पाएको थियो । २०८१ असोज २० गतेसम्म सडक निर्माण सक्नुपर्नेमा चालु आर्थिक वर्ष २०८२/८३ को भदौबाट कालोपत्रे गर्ने कामले गति लिएको हो । सडक फराकिलो र समथर बनाउने, टेवा पर्खाल र नाला निर्माणसँगै गिटी बिछ्याएर सकिएको हो ।
चालु आवको अन्त्यसम्ममा सम्झौता अनुसारको सबै काम सकिने र रकम अभावकै कारण कालोपत्रेको काम अब नरोकिने डिभिजन कार्यालयले जनाएको छ । २७ किलोमिटर लामो सडकको पहिलो खण्ड घुम्ती–काउले खण्डको ५.५ किमी आव २०७७/७८ मा झन्डै १६ करोडको लागतमा पूर्वाधार विकास कार्यालयले कालोपत्रे गरेको थियो ।
आव २०५७/५८ मा नयाँ ट्र्याक खुले पनि सडकको पहिलो खण्ड नै कालोपत्रे हुन झन्डै २० वर्ष लागेको हो । जिल्लाको पूर्वी दक्षिण क्षेत्रका पुतलीबजारसँगै पुरानो बहाकोट, कोल्मा, ओरस्ट, किचनास, मग्याम चिसापानी र चित्रेभन्ज्याङ गाविसका स्थानीयलाई सडक सञ्जालमा जोड्ने गरी सडक निर्माण गरिएको हो ।
सडक बनेपछि पुतलीबजार नगरपालिका–१, २, ८, ९ र बिरुवा गाउँपालिका–३, ४ र ५ तथा हरिनास गाउँपालिका–१, २, ३ र ४ सहित तनहुँ जिल्लाको पश्चिमी क्षेत्र शुक्लागण्डकी, ढोरफिर्दी र राईपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । सडक निर्माणको सन्दर्भमा नयाँ ट्र्याक खोल्नेमा स्थानीयको तानातान र ट्र्याक खुलेपछि बजेट अभावले समयमै स्तरोन्नति हुन नसकेको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।