हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस २५ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि मुस्ताङ जिल्लामा तीन सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनामा जिल्लामा तीन सय १२ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
समितिका सदस्य सचिव एवम् सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार नेपाल प्रहरी तर्फ दुई सय ६६ जना र सशस्त्र प्रहरी बल नेपालमा ४६ जना भर्ना गरिने छ । निर्वाचन प्रहरीका लागि पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिन पाइनेछ । नेपाल प्रहरी जोमसोम र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म जोममसोमबाट भर्नाको फारम लिन सकिन्छ । ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपियाँ तलब सुविधा पाउने गरी भर्ना खुलेको छ ।
त्यस्तै यातायात तथा खानाखाना, दुर्घटना विमाका साथै भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइने सहायक प्रजिअ भण्डारीको भनाइ छ । निर्वाचन प्रहरीका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसकि रूपमा स्वस्थ लगायतका तोकिएको योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान रहेको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये बिगतमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्रअनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने दिइए पनि तोकिएको मापदण्ड भएका सबैले आवेदन दिन पाउने छन् । मुस्ताङङजिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार तीन सय २८ रहेको छ ।