• २६ पुस २०८२, शनिबार

बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम, निर्वाचनको तयारी तीव्र

blog

जिल्ला निर्वाचन आयोगको कार्यालय बैतडी । तस्बिर : केशब राज भट्ट

केशब राज भट्ट 
वाशुलिङ बैतडी, पुस २५ गते ।
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।

बैतडीमा हाल कुल एक लाख ५६ हजार ३७२ मतदातामध्ये ७८ हजार ९८७ पुरुष र ७७ हजार ३८३ महिला  तथा  दुई जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

यो सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा बढ्दो क्रममा रहेको छ भने यो आखाडाले जिल्लामा लोकतान्त्रिक सहभागिता बलियो बन्दै गएको महसुस भएको राजनीतिक विश्लेषकहरु  बताउछन् ।

जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन आयोग, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आवश्यक तयारी अगाडि बढाएका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेलले जानकारी दिनुभयो ।

यस्तै, मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, सुरक्षाको प्रबन्ध तथा अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री मतदान केन्द्र निर्माणमा विशेष ध्यान दिइएको पौडेलले बताउनुभयो । जिल्लाका दुर्गम क्षेत्रसम्म मतदाता सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले भौतिक तथा प्राविधिक तयारीलाई प्राथमिकतामा राखिएको  छ ।

राजनीतिक दलहरू पनि निर्वाचनलाई केन्द्रमा राख्दै घरदैलो अभियान, सभासम्मेलन र जन सम्पर्कलाई तीव्र बनाइरहेका छन् । एक लाखभन्दा बढी मतदाताहरुको सहभागिताले बैतडीको निर्वाचनलाई थप चासोको विषय बनाएको छ । साथै  मतदाताहरूले आफ्नो अमूल्य मत प्रयोग गरी सक्षम प्रतिनिधि चयन गर्ने अपेक्षा समेत गरिएको छ ।