भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), पुस २५ गते । कञ्चनपुरमा सङ्क्रामक रोगको यकिन तथ्याङ्क पाउन मुस्किल बन्दै गएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यहाँका निजी स्वास्थ्य संस्था दर्ता नहुँदा स्वास्थ्य सेवाको प्रभावकारिताको उचित मूल्याङ्कनसमेत हुन सकेको छैन् ।
विभिन्न सङ्क्रामक रोग फैलिनुअघि चेतावनी पाउन, जनशक्ति, बजेट र औषधी योजना बनाउनका साथै स्थानीय, प्रदेश र सङ्घ सरकारलाई एकै किसिमको तथ्याङ्क उपलब्ध गराउन स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई अति महत्वपूर्ण मानिएको छ । कञ्चनपुरस्थित झन्डै पाँच सय निजी स्वास्थ्य संस्थामध्ये सात वटा निजी स्वास्थ्य संस्था मात्रै स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दर्ता रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा बिरामीको सङ्ख्या, रोगका प्रकार, मातृ तथा शिशु स्वास्थ्य तथ्याङ्क, खोप कार्यक्रमको विवरण, स्वास्थ्यकर्मीको सेवा विवरण, औषधी तथा उपकरणको अवस्थाको तथ्याङ्क भए भने रोगको निगरानी गर्न सहजता हुने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख नरेन्द्र रावल बताउनुहुन्छ ।
जिल्लामा हालसम्म ९९ सरकारी अस्पताल तथा स्वास्थ्य संस्था र सात निजी गरेर १०६ स्वास्थ्य संस्था स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दर्ता छन् । जसमध्ये जिल्लाको भीमदत्तस्थित आनन्द पोलिक्लिनिक, सहयात्रा नेपाल, शर्मा प्याथोलोजीलगायतका निजी स्वास्थ्य संस्थाले नियमित तवरले मासिक रूपमा बिरामी र रोगको तथ्याङ्क अपडेट गर्दे आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म कृष्णपुर नगरपालिकामा १२, शुक्लाफाँटा नगरपालिकामा १४, बेदकोट नगरपालिकामा १३, भीमदत्त नगरपालिकामा २३, दोधारा चाँदनी नगरपालिकामा ९, लालझाडी गाउँपालिकामा सात, पुनर्वास नगरपालिकामा ११, बेलौरी नगरपालिकामा १२ र बेलडाँडी गाउँपालिकामा पाँच स्वास्थ्य संस्था स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दर्ता छन् ।
जिल्लाका सबै जसो पालिकालाई यस प्रणालीमा निजी स्वास्थ्य संस्थालाई दर्ता गराउन आग्रह गरिएको सूचना अधिकारी रावलले बताउनुभयो । यसै गरी जिल्लाका सबै पालिकामा रहेका स्वास्थ्य संस्थालाई मौखिक तथा लिखित रूपमा यस प्रणालीमा आबद्ध भएर सरकारलाई सहयोग पु¥याउन आग्रह गरिएको सूचना अधिकारी लेखकले बताउनुभयो । यो प्रणाली कञ्चनपुरमा पूर्ण रूपमा लागु भएमा स्वास्थ्य कार्यालयको समेत उचित मूल्याङ्कन गरिने छ । जसबाट रोगको उचित तथ्याङ्क उपलब्ध भई भविष्यमा अपनाउनुपर्ने सजकता र सतर्कताका लागि पनि पूर्वतयारी थाल्न सहज हुने अपेक्षा गरिएको छ ।
हाल सबै स्वास्थ्य संस्थाले तथ्याङ्क समावेश नगरिदिँदा फैलिएका रोगको निगरानी गर्न समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख रावलले बताउनुभयो । स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल, ल्याबलगायतका स्वास्थ्य संस्थाले यस प्रणालीमा दर्ता नभए ती संस्थाको नवीकरण रोक्का तथा जरिबाना वा सञ्चालनमा रोकसमेत लगाउन सकिने कानुनी व्यवस्था छ तर यहाँका निजी स्वास्थ्य संस्थालाई पटक पटक प्रणालीमा दर्ता हुन आग्रह गर्दा पनि बेवास्ता गरिएको सूचना अधिकारी लेखकले बताउनुभयो । स्वास्थ्य कार्यालयले भने हाल कुनै निजी संस्थामाथि कानुनी कारबाही अगाडी नबढाएको बताएको छ ।
तर जिल्लास्थित निजी स्वास्थ्य संस्थाले भने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली झन्झटिलो भएकाले दर्ता गर्न नसकिएको बताएका छन् । महेन्द्रनगरस्थित मन्त्र अस्पतालका सञ्चालक गोविन्द रोकायाले यस प्रणालीमा दर्ता गर्नका लागि दुई वर्षपहिले स्वास्थ्यकर्मीलाई तालिम पनि प्रदान गरिएको बताउनुभयो तर स्वास्थ्य कार्यालयले यस प्रणालीमा दर्ता हुनका लागि सबै प्रक्रिया पूरा गर्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । यसै गरेर महेन्द्रनगरस्थित आनन्द पोलिक्लिनिकका सञ्चालक भक्तराज भट्टले यस प्रणालीमा दर्ता हुनका लागि स्वास्थ्य कार्यालयले तालिम प्रदान नगरेको र आइडी पासवर्ड उपलब्ध नगराउँदा दर्ता प्रव्रिmयामा जान नसकिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख रावलले यहाँका अधिकांश निजी स्वास्थ्य संस्थाले मापदण्ड पूरा नगर्दा दर्ता गर्न नसकिएको बताउनुभयो । “अधिकांश स्वास्थ्य संस्थाले यसमा दर्ता गर्नका लागि आवश्यक मापदण्ड पूरा नगरेको पाइन्छ,” उहाँले भन्नुभयो, “मापदण्ड पूरा गरेका स्वास्थ्य संस्था यस प्रणालीमा दर्ता छन् ।”
स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अभिलेख तथा प्रतिवेदनसम्बन्धी निर्देशिका, २०७८ ले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका लागि अभिलेख राख्ने, रिपोर्टिङ फाराम, समयसीमा प्रक्रिया र जिम्मेवारीसम्बन्धी विस्तृत मापदण्ड प्रदान गरेको छ । निर्देशिकाबमोजिम निजी स्वास्थ्य संस्थालाई यस प्रणालीमा दर्ता हुनका लागि आवश्यक तालिम उपलब्ध गराउन राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र प्रदेश स्वास्थ्य तालिम केन्द्रसँग आग्रह गरिने कार्यालय प्रमुख रावलले बताउनुभयो ।