अर्जुन काफ्ले
स्याङ्जा, पुस २५ गते । गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नगरवासीलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यका साथ अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आधार मानेर आयुर्वेद उपचारलाई स्थानीय तहसम्म पुर्याउने लक्ष्यका साथ केन्द्र सुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहराले जानकारी दिनुभयो ।
उहाँले जीवनशैलीसँग जोडिएका नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न योग, ध्यान र आधारभूत आयुर्वेद सेवामा केन्द्रित गरिने बताउनुभयो ।
आरोग्य केन्द्रमार्फत विद्यालय, आमा समूह, महिला स्वयंसेविका र युवा क्लबसँग सहकार्य गरी समुदायस्तरमै योग र ध्यान अभ्यास गराइने योजना रहेको वैद्य बोहराले बताउनुभयो ।
यहाँ पूर्वकर्म, पञ्चकर्म, बाष्प विधि, रुघाखोकी उपचार तथा स्वस्थ जीवनशैलीबारे परामर्शसमेत प्रदान गरिने छ । नगर अस्पतालमै नागरिक आरोग्य सेवा सुरु भएसँगै अब गल्याङ क्षेत्रका नागरिकलाई आयुर्वेद उपचार र परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।