• २६ पुस २०८२, शनिबार

गलकोटमा क्षयरोग खोजपडतालबाट दुई सय लाभान्वित

blog

छातिरोगसम्बन्धी खोजपडताल कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक । तस्बिर सौजन्य : पत्रकार शर्मिला रोका

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस २५ गते ।
गलकोट नगरपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेशको समन्वयमा हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका वडा नम्बर ३ मा एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल गरिएको छ ।

क्षयरोग जस्तो दीर्घकालीन तर उपचार सम्भव रोगलाई समयमै पहिचान गर्ने उद्देश्यले गलकोट नगरपालिकामा एक्स–रे प्रविधिमार्फत क्षयरोग खोजपडताल गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले क्षयरोग अझै पनि समाजमा लुकेर फैलिन सक्ने रोग भएको बताउनुभएको थियो । उहाँले समयमै जाँच र उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्ने रोग भएको उल्लेख गर्दै खोजपडताल कार्यक्रमले समुदायमा लुकेर रहेका क्षयरोगी पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले धेरैजसो क्षयरोगी समयमै जाँच नगरिएकै कारण गम्भीर अवस्थामा पुग्ने गरेको बताउँदै स्थानीय तहले अग्रसर भएर समुदायमै पुगेर सेवा दिँदा नागरिकको जीवन बचाउन सकिने बताउनुभएको थियो । उहाँले स्थानीय तहले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा र गलकोट नगर अस्पतालका प्रमुख डा। राजेश पौडेलले क्षयरोग नियन्त्रणमा सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रम मार्फत दुई सय २४ जनाले निःशुल्क एक्स–रे सेवा लिएका थिए । प्रारम्भिक परीक्षणपछि शङ्कास्पद देखिएका १७ जनालाई थप पुष्टि परीक्षण ९जिन एक्सपर्ट० का लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पठाइएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर शाहले जानकारी दिनुभयो । त्यस्तै परीक्षणको क्रममा तीन जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको थियो ।