नेपालको भविष्य कृषि पर्यटनमा मात्रै आधारित छ । मात्रै किसानको खेतबारीको परिश्रमले पुग्दैन । किनकि भारतीय तथा चीनका उत्पादनसँग हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्नै सक्दैन । नेपाली उत्पादन लागत, यातायात खर्च, मल, बिउबिजन, औँजार आयात खर्च तथा महँगो ज्याला दरले गर्दा नेपाली उत्पादन भारतीय वा चिनियाँभन्दा निकै महँगो हुन्छ । उनीहरूको उत्पादन बृहत् हुन्छ । विश्व व्यापार सङ्गठनका विविध प्रावधान अनुरूप उनीहरू सजिलै नेपाली बजारमा प्रवेश पनि पाउँछन् । फेरी नेपालमा बिचौलिया व्यवसाय निकै फस्टाएको पनि छ । किसानले भाउ पाउँदैनन् तर बजारमा उपभोक्ताले महँगो भाउमा किन्नुपर्ने बाध्यता छ । किसान तथा उपभोक्ता दुवै मारमा परेका छन् । किसानको पसिनामा खेलबाड गर्नु हुँदैन । गाउँमा गरिबीले दुःख पाएर नै मानिस सहरबजार पसेको हुन्छ । यो समस्या हामी सबैको समस्या हो र समाधान नै कृषि पर्यटन हो ।
स्वस्थ खाना खान र हिँडडुल गर्न पाउनु मानव अधिकार हो । मानव जीवनको सबैभन्दा खुसी आनन्द भनेको नै मिठो खाने, राम्रो लगाउने, घुमफिर गर्ने, सम्बन्ध बनाउने आदि नै हो । यसमा कृषि पर्यटन भन्नाले कृषिमा आधारित पर्यटन व्यवसाय हो भन्ने बुझिन्छ । किसानले आफ्नो खेतबारी वा करेसाबारीमा उत्पादन गरेको उत्पादनलाई किसानकै घरमा आएका पर्यटकलाई खुवाउने, कोसेली पठाउने, छरछिमेक नजिकै ऐँचोपैँचो मिलाउने तथा व्यवस्थापन गर्ने कार्य कृषि पर्यटनसँग सम्बन्धित हुन्छ । मानौँ माघेसङ्क्रान्ति आउँदै छ । किसानको बारीमा तरुल उत्पादन भएको छ । स्थानीय सरकारले तरुल महोत्सव आयोजना गर्ने, माघीपर्व आयोजना गर्ने, आफ्ना दाजुभाइ सबैलाई निम्ता गर्ने, बसाइँ गएकालाई पनि बोलाउने र खुवाउने गर्नु पर्छ । उक्त महोत्सवमा स्कुल–कलेजका विद्यार्थीलाई पनि निम्ता गर्ने, रमाइलो नाचगान, कन्सर्ट आयोजना गराउने र उनीहरूलाई राम्रो आतिथ्यता प्रदर्शन गराउंदै आफ्नै गाउँमा छरछिमेकमा एक/दुई रात बसाउने गर्नु पर्छ । हरेक घरमा पाहुनालाई व्यवस्थित गर्न सकिन्छ ।
स्थानीय क्षेत्रमा होमस्टे सञ्चालन गर्न समुदायलाई परिचालन गर्नु पर्छ । त्यहाँ उत्पादन भएको सम्पूर्ण तरुल त्यहीँ खपत हुने अवस्था सिर्जना गर्नु पर्छ । तरुल मात्र होइन त्यो सँगसँगै खसीबोका, हाँसकुखुरा, सागपात, दहीदुध र फलफूलको पनि त्यहीँ खपत हुन्छ । स्थानीय मठ मन्दिर, कला संस्कृति र सम्पदाको पनि संरक्षण र प्रचारप्रसार हुन्छ । युवापुस्तालाई आफ्नो जन्मस्थानको मायामा पनि वृद्धि हुन्छ । गाउँ विकासको प्रशस्त मार्गहरू खुल्दै जान्छन् । त्यसैले आफ्नो गाउँको कृषि उत्पादनलाई आफ्नै गाउँमा, आफ्नै पाहुनालाई स्वागत सम्मानका साथ बेच्ने विभिन्न तौरतरिका नै कृषि पर्यटन हो । स्थानीय पालिका प्रमुखलाई स्थानीय स्रोत परिचालनको तालिम भएमा तथा कृषकले त खुसी भएर, सरसफाइमा पूरा ध्यान दिएर आफ्नो कर्म गरे पुग्छ ।
इटालीको तस्कानीमा एउटा गाउँ नै अङ्गुर र जैतुनको बगैँचा छ । त्यही बगैँचाभित्रै मानिस बस्छन्, घुम्छन्, वाइन पिउँछन् । त्यहाँ उत्पादन भएको वाइन तथा जैतुन ५० प्रतिशत त्यहीँ खपत हुन्छ भने ५० प्रतिशत त्यहाँ आएका पाहुनाले किनेर लग्ने गर्छन् । स्थानीय खाना बनाउने तालिम, अङ्गुर तथा जैतुन खेतीको तालिम, वाइन बनाउने तालिम नै यहाँका पर्यटकीय गतिविधि हुन् । यही तालिम लिन, सिक्न, रमाइलो गर्न लाखौँ पर्यटक आउने गरेका छन् । करिङ्गा फार्म, तस्मानिया अस्ट्रेलिया अर्को महत्वपूर्ण कृषि, कृषि पर्यटनको नमुना फार्म हो । यो गाउँमा बृहत् रूपमा भेडापालन गरिन्छ । पर्यटकहरू फार्ममै बस्छन् । भेडा चराउँछन् । भेडाको दुध, घिउ, मासुको परिकार खान्छन् । उनको हस्तकलाको सामान बनाउने तालिम लिन्छन् । भारतको केरलामा मसलाको बगैँचामा नै पर्यटक जान्छन्, बस्छन् । जापानको नोटो द्वीपको सुनरान–नो–साटोमा पर्यटकलाई परम्परागत जापानी घरमा बसोबास, स्थानीय खानपान, मौसमी कृषि कार्य र ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव गराएर प्रशस्त आम्दानी गराइन्छ । यस्ता धेरै उदाहारण छन्, जसबाट हामीले पनि धेरै पाठ सिक्न सक्छौँ ।
पर्यटन भनेको होहल्ला गर्ने, जताततै फोहोर फाल्ने, जाँडरक्सी खाने, झैझगडा गर्ने होइन । कुनै पनि चिज किन्दा नै यसको प्रयोगपछि निस्किने फोहोरको व्यवस्थापन सोचिसक्नु पर्छ । चुइगम किन्दा नै त्यो चुइगम कता व्यवस्थापन गर्ने हो, सोचेर मात्रै किन्नु पर्छ । हरेक नेपालीले यति दिमागको प्रयोग गर्ने हो भने सम्पूर्ण नेपालको वातावरण स्वच्छ हुन्छ । पर्यटन भनेको प्रेम, अतिथ्यता तथा श्रद्धा हो । गाउँमा किसानको समुदायमा गरिने प्रेम र श्रद्धाको व्यवसायीकरण नै कृषि पर्यटन हो । के यो सम्भव छ त ? भन्ने ठुलो भ्रम छ । हो यो सम्भव छ–खेतीपाती अनुभव, पशुपालन, कृषि तालिम, स्थानीय उत्पादन प्रक्रिया अवलोकन, कृषक पर्यटक अन्तर्क्रिया होमस्टे–फार्मस्टे आदिबाट राम्रो आम्दानी गर्न सकिन्छ । पर्यटनले केही नकारात्मक कार्य गर्दैन किनभने अर्काको ठाउँमा गएर बदमासी गर्ने हिम्मत धेरैमा हुँदैन । यसले शिक्षा–संस्कृतिको आदानप्रदान हुन्छ । व्यावसायिक एकताको वृद्धि हुन्छ । अतिथिहरू सिकाउन होइन सिक्न चाहन्छन । त्यसैले पर्यटनसम्बन्धी धेरै नकारात्मक भ्रम जताततै छरिएका छन् यसबाट हामी मुक्त हुनु पर्छ ।
कृषि पर्यटनको विकासले बहुआयामिक आम्दानीमा असीमित वृद्धि हुन्छ । हप्तामा दुई जना पर्यटक आइदिए पुग्छ । घरमा बालबालिकाले सिक्ने अवसर पाउने छन् । आफ्नो घरबारी सुन्दर स्वच्छ हराभरा फूलबारी झैँ हुन्छ । स्वस्थ खाना मिठो मसिनो पर्यटकस्तरीय नै खाइन्छ । नाचगान, पूजापाठ, भजनकीर्तन तथा जात्रापर्व पर्यटक (अतिथिलाई) देखाउन नै भए पनि भव्यसँग गरिन्छ । घरपरिवारमा कहिले पनि झैझगडा हुँदैन । प्रेम र आतिथ्यता निरन्तर बढ्छ । जीवन स्वस्थ हुन्छ । उत्पादन भएन, बजार भएन, विषादी धेरै भयो, बाडी खडेरी आदि कुनै कुराको चिन्ता भएन । आफ्नो उत्पादनको मोल आफैँले तोक्न पाइन्छ । किसानले आफ्नो घरमा पाहुना राख्ने दुई तीन वटा कोठा बनाइदिए पुग्छ । यसमा पालिका तथा अन्य सङ्घ संस्थाले सहयोग गर्न सक्छन् ।
कोरा कृषि तथा उद्योगले मात्र नेपालीको उन्नति हुँदैन । नेपालको योजनाबद्ध विकासको यात्रा १९५६ देखि २०२५ सम्ममा खर्बौं बजेट कृषि मन्त्रालयबाट खर्च भइसकेको छ तर आज पनि किसानको अवस्था दयनीय छ । कृषि क्षेत्रले विकास गर्न सकेन । त्यसको कारण भारत तथा चीनबाट हुने आयात तथा उनीहरूको सहज बजार नेपाल भएर नै हो । हामी उनीहरूको बजार रोक्न सक्दैनौँ । एउटा मल कारखानासम्म पनि खोल्न सकेनौँ । कृषि औँजार, बिउबिजन, मलखाद तथा उत्पादन सबैको हामी चीन तथा भारतका सजिला बजार मात्रै हौँ । त्यसैले अब दृष्टिकोण नै बदल्नु पर्छ । हाम्रो कृषिको रणनीति कृषि पर्यटन हुनु पर्छ ।
हामीले देशलाई नै अर्गानिक (विषादीरहित) देश घोषणा गर्नु पर्छ । नेपालमा सबैभन्दा स्वस्थ खाना खान पाइन्छ । नेपालका हरेक गाउँघर पर्यटकीय केन्द्र भएका हुन्छन् । केवल पाँच प्रतिशत चिनियाँ तथा भारतीयको बिदा मनाउने भव्य पर्यटकीय देश बनाउन सकिन्छ । यति भयो भने हाम्रो उत्पादनले बजार खोज्नु पर्दैन उल्टो बजार नै हाम्रो गाउँ गाउँमा घुमिरहेको हुने छ । किसानसँगै देशको भविष्य उज्ज्वल हुन्छ ।
कृषि पर्यटनको विकासले बहुआयामिक आम्दानीमा असीमित वृद्धि हुन्छ । हप्तामा दुई जना पर्यटक आइदिए पुग्छ । घरमा बालबालिकाले सिक्ने अवसर पाउने छन् । आफ्नो घरबारी सुन्दर स्वच्छ हराभरा फूलबारी झैँ हुन्छ ।