लेखनाथ, पुस २५ गते । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समिति कास्कीले बिहीबार यससम्बन्धी सूचना प्रकाशन गरेको हो ।
यसअघि निर्वाचनाको सुरक्षामा सघाउन भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएकोमा यसपालि निर्वाचन प्रहरी नाम दिइएको छ । फागुनको निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि आवश्यक निर्वाचन प्रहरीका लागि भर्नाबारे एकीकृत सूचना प्रकाशन भएको छ ।
निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग भएका निर्वाचन प्रहरीमा शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिने समय छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बलको कालिका गणबाट फारम वितरणका साथ त्यही फारम बुझाउन मिल्छ । दरखास्त दिनेहरु फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेको, शारीरिक र मानसिक रुपले स्वस्थ व्यक्तिले फारम भर्न सक्ने सूचनामा उल्लेख छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षकलाई प्राथमिकता दिइनेछ । अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ ।
आगामी माघ ५ देखि ९ गतेसम्म आवेदकको प्रारम्भिक छनोट गरी अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुनेछ । उत्तीर्ण निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ ।
निर्वाचन प्रहरीको नियुक्ति पाएको मितिले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नुपर्ने छ । नेपाल प्रहरीले बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार नौ सय ८० जना निर्वाचन प्रहरी भर्ना आह्वान गरेको छ ।
निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ पाउनेछन् । उनीहरुलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार ४० दिनको लागि खाद्यान्न बापतको रकम र निर्वाचनको क्रममो ठाउँमा आउने र जाने तयारीस्वरुप आठ सय ४६ रुपियाँ र तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार दुई सय खाजा खर्च दिइनेछ ।
यता, भनेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने भएको छ । एकीकृत सुरक्षा योजना २०८२ सेना परिचालनको तयारी भएको हो ।