हरिप्रसाद कोइराला
उर्लाबारी, पुस २५ गते । देशमा रोजगार नभएको भन्दै दैनिक एक हजार पाँच सय नेपाली बिदेसिने गरेको सरकारी तथ्याङ्क छ । सीमावर्ती भारतका गाउँबाट नेपाल पसेका भारतीय नागरिक भने तीन महिना काम गरेर एक लाखभन्दा बढी कमाइ गर्छन् र आफ्नो देश फर्कन्छन् ।
नयाँ वर्षका बेला लाग्ने सिरुवा मेलामा प्रयोग हुने फूलघोडा होस् या विश्वकर्मा पूजा र सरस्वती पूजामा प्रयोग हुने माटोबाट बन्ने मूर्ति । यी दुवै काम गर्न भारतीय नेपाल आउँछन् र तीन महिना यतै बसेर काम गर्छन् ।
नेपाली गाउँमा डेरा बसेर उनीहरू पराल, माटो र बाँस प्रयोग गरेर कलात्मक मूर्ति बनाउँछन् । सरस्वती पूजाका लागि आवश्यक पर्ने मूर्ति बनाउन मङ्सिरको पहिलो सातादेखि नै भारतबाट नेपाल आउनुभएका भारत अररियाका कमलानन्द पण्डित नेपालमा पूरा तीन महिना बसाइ हुने बताउनुहुन्छ ।
पराललाई डोरीले बाँधेर हात, खुट्टा र शरीरको आकृति तयार पारेर त्यसमा चिम्ट्याइलो माटोले लिप्ने, घाममा सुकाउने र विभिन्न रङ्रोगन गरी आकर्षक मूर्ति बनाउने उहाँहरूको पुख्र्यौली पेसा नै हो । आदिकालदेखि माटाका भाँडा (गाग्रो, हाँडी, सुल्फा, दियो, पाला, कोइल्याँटो) बनाएर जीविकोपार्जन गर्दै आएका कुम्हाल (पण्डित) हरू यतिबेला माटोका परम्परागत भाँडाकुँडा चलनमा आउन छोडेपछि मूर्ति बनाउन व्यस्त भएका हुन् ।
माटाका भाँडाकुँडाको व्यापार वर्षभरि चल्थ्यो तर मूर्तिको व्यापार मौसमी हुन्छ । उहाँले तयार भएका मूर्ति प्रतिगोटा एक हजार पाँच सय रुपियाँदेखि सात हजार रुपियाँसम्ममा बिक्री हुने बताउनुभयो ।
कमलानन्द पण्डित ४० वर्षदेखि यही पेसामा संलग्न हुनुहुन्छ । उहाँका अनुसार नेपालमा बसेर काम गर्दा आम्दानी राम्रो हुने गरेको छ र यही सिपले परिवार चलाउन सहज भएको छ । उहाँ जस्तै धेरै कलाकार तीन महिनामा ८० हजारदेखि एक लाख रुपियाँसम्म कमाएर भारत फर्कने गर्छन् ।
तराईदेखि पहाडसम्मका विद्यालयले सरस्वती पूजा भव्य रूपमा मनाउने गर्छन् । यही बेला उनीहरू आफ्नो कला बेचेर पैसा कमाउने गर्छन् । भारतको विहारस्थित किसनगन्ज जिल्लाको मटियारी गाउँबाट आउनुभएका शिवनाथ पण्डितले भन्नुभयो, “उहिले उहिले बयलगाडामा आउँथ्यौँ । अहिले मोटरसाइकलमा आउँछौँ ।”उहाँले एक घना बाँस, एक बिटा पराल र एक पावा डोरीले २० हजार मूल्यको मूर्ति बन्ने बताउनुभयो । परिवारका सदस्यसहित आउनुभएका शिवनाथले भन्नुभयो, “पहिले पहिले नेपाली कुम्हालहरू पनि माटोका मूर्ति बनाएर बेच्ने गर्थे, त्यसैले अलि प्रतिस्पर्धा थियो ।”
अहिले भने नेपाली जति पासपोर्ट बनाउँदै विदेश गएका छन् । त्यसैले भारतीयको मूर्ति व्यापारमा एकछत्र राज छ ।