रङ्गेली समाचारदाता
विराटनगर, पुस २५ गते । विराटनगर महानगरपालिकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय लिएको छ । बिहीबार १७ औँ नगर अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय लिइएको हो ।
उपप्रमुख शिल्पा निराला कार्कीले वडास्तरीयबाहेकका विषयमा क्षेत्रगत तथा नगरस्तरीय योजना र कार्यक्रम समायोजन हुने गरी संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उपप्रमुख कार्कीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्य अनुरूप असुल हुन नसक्नुलगायतका कारण चालु आवका लागि प्रक्षेपित बजेट संशोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको छ । महानगरपालिकाले वडाले खर्च गर्न पाउने गरी तय भएका योजना/कार्यक्रमका लागि विनियोजन भएको रकम भने यथावत् राखेको छ ।
महानगरपालिकाले पुस १५ सम्म एक अर्ब १५ करोड ८४ लाख ४८ हजार ३३५ रुपियाँ अर्थात् २८.९३ प्रतिशत मात्र यथार्थ आयआर्जन गरेको छ । यसै गरी कुल अनुमानित व्यय चार अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख ७५ हजार २८४ रुपियाँ अर्थात् १७.९० प्रतिशत खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । खर्चमध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपियाँ र प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५१५ रुपियाँ रहेको छ । वित्तीयतर्फ दुई करोड ४५ लाख एक हजार ६८३ रुपियाँ खर्च भएको छ ।
महानगरपालिकाको कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ एक अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २६४ रुपियाँ मात्रै यथार्थ आय सङ्कलन भएको छ ।
उपप्रमुख कार्कीका अनुसार राजस्व बाँडफाँटबाट प्राप्त आय एक अर्ब १९ करोड २० लाख तीन हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८१८ रुपियाँ मात्रै प्राप्त भएको छ । यसै गरी अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ एक अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ ।