• २५ पुस २०८२, शुक्रबार

निर्वाचन अनुगमनको तयारीमा आयोग

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २५ गते । राष्ट्रिय मानव अधिकारले आगामी फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन अनुगमनको तयारीमा रहेको जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै विगतका निर्वाचनमा समेत अनुगमन गरी सरकार, राजनीतिक दल, सञ्चारकर्मी, अनुगमनकर्ता र पर्यवेक्षकलाई सुधार गर्नुपर्ने विषयमा विभिन्न सिफारिस गर्दै आइरहेको उल्लेख छ ।

निर्वाचनमा राजनीतिक दलबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगले सबै दललाई आग्रह गरेको छ । राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषय समेटी त्यसको कार्यान्वयको सुनिश्चितताका लागि प्रतिबद्धता जाहेर गर्नु राम्रो हुने आयोगले जनाएको छ । मानव अधिकार संस्कृतिको निर्माण र विकासमा योगदान पुग्नुका साथै देशको मानव अधिकारको अवस्थामा सुधार गर्नसमेत मद्दत पुग्ने आयोगको ठहर छ । ‘संविधानले आत्मसात् गरेको लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट नागरिकको मानव अधिकारको उपभोग सुनिश्चित गर्न राजनीतिक दलको समेत अहम् भूमिका रहने कुरा आयोग सबै दललाई पुनः स्मरण गराउँदछ’ विज्ञप्तिमा उल्लेख छ ।