नारद कोहार
तौलिहवा(कपिलबस्तु), पुस २४ गते । गिद्ध संरक्षणलाई दीगो बनाउँदै विषालु औषधीको प्रयोग नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कपिलवस्तुको तौलिहवामा सम्पन्न अन्तरक्रिया तथा कार्यशालामा पशु स्वास्थ्य, वन, संरक्षण तथा कृषि क्षेत्रका विज्ञहरूले गिद्ध घट्नुको प्रमुख कारणमध्ये विषालु औषधि रहेको औँल्याउँदै प्रभावकारी नियन्त्रण अपरिहार्य रहेको बताएका हुन् ।
कार्यक्रम नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्यसमिति कपिलवस्तु, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्य तथा बर्ड कन्जर्भेसन नेपालको आयोजनामा सम्पन्न गरिएको हो ।
एसोसिएसन कपिलवस्तुका जिल्ला अध्यक्ष परमेश्वर यादवले जिल्लामा नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधिको प्रयोग करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो । अझै केही स्थानमा जोखिम कायमै रहेकाले निरन्तर अनुगमन र सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जयप्रकाश गुप्ताले विद्युत् प्रशारण लाइन, मानवीय गतिविधि, डढेलो, हावाहुरी, रोग तथा सिनोमा विषको प्रयोग गिद्धका लागि चुनौती बन्दै गएको बताउनुभयो । कपिलवस्तुको राजापानी वन क्षेत्रमा मात्रै एक सयभन्दा बढी गिद्धका गुँड फेला परेको उहाँले जानकारी दिनुभयो ।
पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले सन् २००९ देखि गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनमा आएको र सन् २०१७ देखि गिद्धको स्वास्थ्य परीक्षण तथा स्याटेलाइट ट्यागिङ सुरु गरिएको बताउनुभयो । सुरक्षित मापदण्ड पूरा गरेपछि गण्डकी र लुम्बिनी क्षेत्र विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो । गिद्ध संरक्षण दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी डा. उर्मिला भट्टराईले विषालु औषधिले गिद्धको कलेजो र मिर्गौलामा गम्भीर असर पु¥याउने वैज्ञानिक तथ्य प्रस्तुत गर्दै पशु उपचारमा सुरक्षित औषधिको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत शिवलाल घिमिरेले गिद्ध संरक्षण कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गरी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुकई प्रसाद थारुले गिद्ध वातावरणीय सन्तुलन, सार्वजनिक स्वास्थ्य तथा जैविक विविधताको संरक्षणका लागि अत्यन्त महत्वपूर्ण प्रजाति भएको बताउनुभयो । कार्यक्रममा विभिन्न पालिकाका पशु शाखाका प्रमुख एवम् प्रतिनिधि, एग्रोभेट सञ्चालक लगायतको सहभागिता रहेको थियो ।