• २५ पुस २०८२, शुक्रबार

पोखरेलसहित ओखलढुङ्गाबाट पाँच जना सिफारिस

blog

नेकपा (एमाले) ओखलढुङ्गाको बैठक । तस्बिरः शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, पुस २४ गते । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छ । 

नेकपा (एमाले) ओखलढुङ्गा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा नेता पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले दोस्रो नम्बरमा पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरेको छ । त्यस्तै, प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई पनि उम्मेदवारको रूपमा सिफारिस गरिएको नेकपा (एमाले) ओखलढुङ्गा प्रचार विभाग प्रमुख राजीव कटवालले जानकारी दिनु भयो । 

बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठक राति अबेरसम्म चलेको थियो । बैठकका क्रममा जिल्ला कमिटी तथा पालिका कमिटीका अधिकांश पदाधिकारीले पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्न माग गरेका थिए । प्रतिनिधिसभा उम्मेदवार बन्न १८ जना आकाङ्क्षी भए पनि अन्तिममा पाँच जनाको नाम टुङ्गो लगाएर केन्द्रमा पठाइएको नेकपा (एमाले) ओखलढुङ्गाले जनाएको छ ।

बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रतिनिधि तथा विभिन्न जनसङ्गठनका प्रमुखको सहभागिता रहेको थियो । जिल्लामा पोखरेल समूहको पक्कड रहेको छ । 

एमाले नेता कार्यकर्ताका अनुसार पोखरेलको नाम पहिलो नम्बरमा सिफारिस भए पनि अम्बिरबाबु गुरुङ र यज्ञराज सुनुवारबिच टिकटका लागि प्रतिस्पर्धा हुने आँकलन छ । गुरुङ पोखरेल र सुनुवार अध्यक्ष केपी ओली पक्षका नेता हुन् ।