• २५ पुस २०८२, शुक्रबार

रेसुङ्गाको १८ औं नगरसभा सुरु

blog

रेसुङ्गा नगरको १८ औं नगरसभा । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस २४ गते । रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सुरु भएको छ । सभामा विधायन समिति संयोजक कृष्ण पाण्डेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पेश गर्नुभयो ।

त्यस्तै, रेसुङ्गा नगरपालिकाको विनियोजन ऐन, २०८२ र रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्नेसम्बन्धी प्रस्ताव सभामा पेश भएको छ । नगर प्रमुख पन्थीले सामाजिक सुरक्षाको अवस्था, गुल्मी अस्पतालमा गरेको सहयोग र प्रभावकारिता बारेमा सभामा अवगत गराउनुभएको थियो ।

त्यस्तै, रेसुङ्गा बहुमुखी क्याम्पसमा नगरले गरेको सहयोग, रेसुङ्गा र गर्जुरा क्षेत्रमा भएको पर्यटन पूर्वाधार, सरसफाइ अभियान, सुन्दर नगर तम्घासको फोहोर महिला व्यवस्थापन, सुँगुर र बङ्गुर व्यवस्थापन, चिदिचौर खेल मैदानको निर्माण अवस्थाको बारेमा समेत नगरप्रमुख पन्थीले सभामा जानकारी प्रस्तुत गर्नुभयो ।

नगरको योजना र सम्झौताको अवस्था, सडक निर्माण र कालोपत्रे, खानेपानी, विपद्, कृषि, पशुपालनलगायतको प्रगति विवरण पन्थीले सभामा प्रस्तुत गर्नुभयो । नगर प्रमुख पन्थीका अनुसार यो आर्थिक वर्षमा एक करोड १५ लाख ७७ हजार ४२२ रुपियाँ सङ्कलन भएको छ । नगरले भौतिक प्रगति ४० र आर्थिक प्रगति ३२ प्रतिशत छ ।