• २० वैशाख २०८३, आइतबार

एनएमबी बैँकमा तालाबन्दी

blog

एनएमबी बैँक कञ्चनपुरको झलारी शाखामा जेनजी युवाहरू । तस्बिरः निराजन परियार

निराजन परियार

चौमाला (कैलाली), पुस २४ गते । एनएमबी बैँक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दी गरेको छ । 

शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको घरजग्गा दलालसँग मिलेमतोमा लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको भन्दै एनएमबी बैँकमा तालाबन्दी गरिएको हो ।

जेनजी युवाहरूले तालाबन्दी गर्नु पूर्व विकको धितो लिलामसम्बन्धी इलाका प्रहरी कार्यालयमा बैँकका प्रतिनिधिहरू र जनप्रतिनीधिहरूसँग छलफल गरेका थिए । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले बैँकले झुक्याएर घर बाटो सिफारिश लिएको भन्दै उक्त सिफारिस रद्द गर्न अर्को पत्र लेखेको बताउनु भयो । 

यता एनएमबी बैँक कञ्चनपुरको झलारीबजार शाखाका प्रमुख दीपक कार्कीले प्रक्रियागत रूपमा घर लिलामी गरेको दाबी गर्नु भयो । उहाँले बैँकमा तालाबन्दी गर्नुभन्दा ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गर्नु भयो । 

जेनजी सङ्घर्ष समितिका अगुवा सिजनबहादुर सिंहले जग्गाको काम गर्ने धिरेन्द्र साउँदसँग मिलेर बैँकका कर्मचारीको मिलेमतोमा घर लिलामी गरेको कारण तालाबन्दी गरेको बताउनु भयो । उहाँले पीडितले न्याय नपाउन्जेलसम्म तालाबन्दी र सङ्घर्षका कार्यक्रम जारी राख्ने बताउनु भयो । 

अजय विकले शुक्लाफाटा नगरपालिका–१०, झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर झलारी बजारमै रहेको एनएमबी बैँकको शाखामा धितोमा राखी २०७५ साल कात्तिक २० गते होमलोन शीर्षकमा २९ लाख ५० हजार ऋण लिनु भएको थियो ।  

१५ वर्षको कर्जा भुक्तानी अवधी राखी लगेको सो ऋणको पाँच वर्षमा विभिन्न समयमा साँवा र व्याज गरी १० लाख तिरिसकेको उहाँको बैँक स्टेटमेन्टबाट देखिन्छ । तर बैँकले पत्रमा अहिलेसम्म किस्ता नै नतिरेको उल्लेख गरेको छ । विकले लिएको २९ लाख ५० हजार दिएको ऋण रकम धितो दृष्टिबन्धक लिखतमा भने ३७ लाख उल्लेख गरिएको छ । बैँकले विकलाई दिएको कर्जा स्वीकृत प्रस्तावमा भने २९ लाख ५० हजार ऋण उल्लेख छ ।

विकले ऋणका लागि आफ्नी धर्मपत्नी ज्ञानु विश्वकर्माको नाममा भएको झलारीस्थित ६१६ नम्बर कित्ताको जग्गा र त्यसमा बनेको घर धितो राखेका थिए । त्यहीं धितो रोक्का गरी बैँकले विकलाई ऋण दिएको थियो ।

बैँकबाट लिएको २९ लाख ५० ऋणलाई बैँकले महेन्द्रनगर शाखाबाट २०७५ मा ३७ लाख ऋण लिएर किस्ता तिर्न आनाकानी गरेको भन्दै २०८० मा उहाँको घर लिलाम गरेको थियो ।

बैँकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी नगरिदिनु भनी ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैँकमा जाँदा पनि पैसा नबुझेको उहाँको आरोप छ । बैँकले आफूलाई ऋण तिर्न समय नदिई जग्गा दलालसँग सेटिङ गरी घर लिलाम गरेको भन्दै विक परिवार आपत्ति जनाएको छ ।