काठमाडाैँ, पुस २४ गते । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनु भएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली सङ्घ (इयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनु भयो ।
मन्त्री सिन्हाले नेपाल र युरोपेली सङ्घ (इयू) बिचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राख्नु भयो । नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबिचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उहाँको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनु पर्नेमा जोड दिनु भयो ।
मन्त्री सिन्हाले भन्नु भयो, ‘नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण विषयहरूमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यो मञ्चले नेपाल र युरोपेली सङ्घबिच अनादिकालदेखि रहिआएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने छ । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नु पर्छ, जसले नेपाललाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सहयोग पुर्याउने छ ।’
कार्यक्रमले नेपाल र युरोपेली सङ्घबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।