• २५ पुस २०८२, शुक्रबार

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

blog

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही । तस्बिर : सामाजिक सञ्जाल

नौरते नेपाली
सिँजा (जुम्ला), पुस २४ गते ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने उम्मेदवारका रूपमा शाहीलाई अघि सारेको हो ।

जुम्ला तथा समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका शाही नेपाली कांग्रेसभित्र अनुभवी र सङ्गठनप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । कर्णालीका दुर्गम जिल्ला, विकासमा पछाडि परेका समुदाय, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई निरन्तर उठाउँदै आउनुभएका शाहीलाई पार्टीले राष्ट्रिय सभा जस्तो गरिमामय सदनका लागि उपयुक्त व्यक्ति ठहर गर्दै उम्मेदवार बनाएको जनाएको छ ।

कर्णालीका मुद्दा राष्ट्रिय नीति निर्माण तहसम्म पुर्‍याउन सक्ने क्षमता, राजनीतिक अनुभव र समन्वयकारी भूमिकाका कारण शाहीलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेसले जनाएको छ । प्रदेश सभापतिको हैसियतमा उहाँले पार्टी संगठनलाई जिल्लादेखि वडास्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । शाहीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै कर्णालीको समग्र विकास, पछाडि परेका वर्ग र क्षेत्रका आवाज राष्ट्रिय सभामा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्णाली अझै पनि विकास, अवसर र पहुँचका हिसाबले पछाडि परेको क्षेत्र हो । यदि राष्ट्रिय सभामा पुग्ने अवसर पाए भने कर्णालीका नागरिकका अधिकार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने उहाँको भनाइ छ । राष्ट्रिय सभा सङ्घीय संसदको महत्त्वपूर्ण अङ्ग भएकाले यहाँ प्रस्तुत हुने नीति, कानून र राष्ट्रिय सरोकारका विषयले देशको दीर्घकालीन दिशालाई प्रभाव पार्ने गर्छन् ।

यस सन्दर्भमा कांग्रेसले कर्णालीबाट अनुभवी र क्षेत्रीय प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताएको छ । कर्णाली प्रदेशमा कांग्रेसभित्र शाहीको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ । पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले शाहीको उम्मेदवारीले कर्णालीको राजनीतिक उपस्थिति राष्ट्रिय स्तरमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, शाहीको उम्मेदवारीले कांग्रेस सङ्गठनलाई थप उत्साहित बनाएको उनीहरूको भनाइ छ । माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ । यस निर्वाचनलाई कर्णालीको राजनीतिक भविष्य र राष्ट्रिय राजनीतिमा प्रदेशको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने अवसरका रूपमा हेरिएको छ ।