• २५ पुस २०८२, शुक्रबार

सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन

blog

सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको भवन । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, पुस २४ गते ।
पर्यटकीय क्षेत्र सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । चौतारा साँगचाकेगढी नगरपालिका–१० मा अवस्थित अरनिको राजमार्गमा जोडिएको सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि उपचार सेवा लिनको भीड बढ्न थालेको छ ।

अरनिको राजमार्गमा दैनिक जसो सवारी दुर्घटनाका घटना हुने गर्छन् । त्यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । त्यस स्थानमा आकस्मिक उपचारका लागि यस स्वास्थ्य संस्था प्रारम्भिक उपचारका लागि वरदान सावित भएको छ । साथै काभ्रेपलाञ्चोकको दोलालघाटदेखि सिन्धुपाल्चोकको बलेफीसम्मका स्थानीयहरुले सो स्वास्थ्य सेवाबाट उपचार लाभ पाउनेछन् ।

बागमती प्रदेश सरकारको लगानीमा पाँच वर्षअघि निर्माण भई अलपत्र अवस्थामा रहेको सामुदायिक भवनलाई सदुपयोग गर्दे चौतारा साँगाचोकगढी नगरपालिकाले आवश्यक जनशक्ति प्रवन्ध गरेर स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सो नगरपालिकाले एक जना अनमी, एक जना अहेव स्वास्थ्यकर्मी प्रवन्ध गरेको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ काम गर्दे आएको छ ।

केही दिन अघि उक्त नगरपालिकाले आफ्नै आर्थिक सहयोगमा नगरभरका १४ वटा वडाका ८९ जना र छिमेकी जुगल गाउँपालिकाका ३० जना मोतिबिन्दुका रोगीहरुलाई चौतारा लगेर नि:शुल्क शल्यक्रिया गरेको प्रमुख सापकोटाले बताउनुभएको छ । सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि सामान्य उपचार लिनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको सुकुटेका समाजसेवी मन्दु थापाले प्रतिक्रिया दिनुभयो ।