• २५ पुस २०८२, शुक्रबार

‘निर्वाचन व्यवस्थापन राष्ट्रप्रतिको दायित्व’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थापन प्राविधिक कार्य मात्र नभई राष्ट्रप्रतिको दायित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धता भएकाले सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । 

मङ्गलबारदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीको समापनमा आयुक्त तुलाधरले संविधानले प्रदान गरेको दायित्व अनुसार चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता अनुसार आयोगले काम गरिरहेको बताउनुभएको हो । 

उहाँले डिजिटल प्लेटफर्ममा फैलिने मिथ्या सूचना नियन्त्रणमा प्रशिक्षकको भूमिका मत्वपूर्ण पनि बताउनुभयो । उहाँले भन्नुभयो, “आजको डिजिटल युगमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत फैलिने मिथ्या सूचना, अफवाह, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्छ । यसप्रति सचेत रहँदै तथ्यमा आधारित सूचना प्रवाह, जिम्मेवार सञ्चार तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा प्रशिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गर्छ ।”

निर्वाचन व्यवस्थापनमा खटिने जनशक्तिको समयमै परिचालन, तटस्थ आचरण तथा निर्वाचन आचारसंहिताको पूर्ण पालनै निर्वाचन विश्वसनीयताको आधार स्तम्भ भएको पनि बताउनुभयो । निर्वाचन सञ्चालनका क्रममा सार्वजनिक स्रोत उपयोगमा पारदर्शिता, मितव्ययिता, वित्तीय अनुशासन र उत्तरदायित्व अनिवार्य हुने पनि उहाँले बताउनुभयो । फरक पृष्ठभूमिमा निर्वाचन भइरहेकाले नवयुवा पुस्तामा लोकतन्त्रप्रति विश्वास, उत्तरदायित्व र उत्साह अभिवृद्धि गर्ने कार्य पनि तल्लो तहसम्म पु¥याउन आवश्यक भएको पनि उहाँको भनाइ थियो । उहाँले आयोगद्वारा स्वीकृत कार्यतालिका अनुसार राजनीतिक दल दर्ता, समानुपातिक निर्वाचनका लागि बन्दसूची पेस, निर्वाचन आचारसंहिता तथा आवश्यक निर्देशिका–कार्यविधि स्वीकृत भइसकेको पनि बताउनुभयो । मतदाता नामावली अद्यावधिक तथा मतपत्र छपाइ प्रारम्भ भइसकेको, निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामग्री खरिदलाई विकेन्द्रीकरण गरिएको आयुक्त तुलाधरको भनाइ थियो । खरिद सामग्रीमध्ये ११ प्रकारका सामग्री सार्वजनिक निकायबाट गर्ने गरी अन्तिम चरणमा रहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले गलत मतदान हुने नदिन, बदर मत कम गर्न र मतदातामा रहेको निर्वाचनसम्बन्धी भ्रम अन्त्य गर्न प्रभावकारी मतदाता शिक्षा अपरिहार्य रहेको बताउनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षालाई विशेष महत्व दिएको पनि उहाँको भनाइ थियो । 

निर्वाचन आचारसंहिता अनुगमन तथा पर्यवेक्षणलाई आयोगले प्राथमिकतामा राखेको सचिव राउतले बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्दै निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्दै सन्तुलन कायम गर्न आवश्यक रहेको पनि उहाँको भनाइ छ । निर्वाचन सफलता सबैको सामूहिक प्रतिबद्धता, पेसागत निष्ठा र संस्थागत सहकार्यमा निर्भर पनि राउतले बताउनुभयो ।