जीवछ यादव
लहान, पुस २४ गते । लहान नगरपालिकाको सहरी क्षेत्रसँग नजिक रहेको पर्यटकीय स्थल देवीदह संरक्षणको अभावमा ओझेलमा पर्न थालेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । देवीदहको समग्र विकासका लागि एकताबद्ध भएर विष्णुमहायज्ञ आयोजना गर्ने तयारीसमेत थालिएको छ ।
सुन्दर दृश्य र बजारबाट नजिक भएकाले कुनै समय निकै चर्चामा रहेको देवीदह पछिल्ला केही वर्षयता किन ओझेलमा पर्यो भन्ने विषयमा पुनः खोजी तथा प्रचार–प्रसारमा स्थानीयहरू जुट्न थालेको लहान नगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताउनु भयो ।
दस बिघा क्षेत्रफलमा फैलिएको मुतनी जङ्गलको छेउमा अवस्थित देवीदहको उत्तरी डिलमा देवीको मन्दिर रहेको छ । यहाँ कुनै समय चार वटा साना र एउटा ठुलो डुङ्गा नियमित सञ्चालनमा थिए । डुङ्गाबाट दैनिक पाँच हजारदेखि दस हजार रुपियाँसम्म आम्दानी हुने गर्दथ्यो । वनभोजका लागि आउने पर्यटकको घुइँचो लाग्ने देवीदह पछिल्ला वर्षहरूमा सुनसान बनेको वडाध्यक्ष चौधरीले बताउनु भयो ।
देवीदहमा हाल माछापालनबाट वर्षमा करिब दुई लाख रुपियाँ मात्र आम्दानी हुने गरेको र सीमित स्रोतका कारण चाहेर पनि पर्याप्त विकास गर्न नसकिएको उहाँको भनाइ छ । २०७८ सालमा सौन्दर्यीकरण र सडक निर्माणका लागि छ करोड रुपियाँको बजेटमा टेन्डर लागे पनि काम अघि बढ्न नसक्दा समस्या झन जटिल बनेको उहाँले सुनाउनु भयो ।
वडाध्यक्ष चौधरीका अनुसार यस वर्ष मधेश प्रदेशसभा सदस्य ललिता दासले उपलब्ध गराएको २४ लाख रुपियाँबाट देवीदहभित्र केही सौन्दर्यीकरण गरिएको छ । उहाँले तत्काल लहान वडा नम्बर ९ देखि देवीदहसम्म पिच सडक निर्माण र सौन्दर्यीकरणका लागि करिब एक करोड रुपियाँ लगानी आवश्यक रहेको बताउनु भयो ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत नेपाली सेनाको परिचालन गरी देवीदहमा सौन्दर्यीकरण लगायतका काम गरेपछि करिब एक दशकसम्म भारतसहित विभिन्न जिल्लाबाट पर्यटक आउने क्रम बढेको देवीदह विकास समितिका अध्यक्ष कपिलेश्वर यादवले जानकारी दिनु भयो ।
देवीदह विकास समितिको चयनमा पटक–पटक विवाद हुनु र आय–व्यय पारदर्शी नहुनुका कारण विकास अवरुद्ध भएको स्थानीयहरूको गुनासो छ । स्थानीय रमन यादवका अनुसार सहमति र एकताका साथ अघि बढेपछि नजिकैको लहान वडा नम्बर १५ मा रहेको राजदेवी, हात्ती दह र झ्वाइ खोल्सीको विकासले गति लिएको छ । तर देवीदह भने विवादकै कारण ओरालो लागेको उहाँले बताउनु भयो । “आउँदो चैत ५ गतेदेखि विष्णुमहायज्ञ आयोजना गरेर देवीदहको विकास अघि बढाउने तयारी गरेका छौं,” उहाँले भन्नु भयो ।
लहान नगरपालिका वडा नम्बर १५, १६ र १७ लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै आएको र स्थानीय बजेटले भ्याएसम्म सहयोग गर्दै आएको नगर प्रमुख महेशप्रसाद चौधरीले बताउनु भयो । लहान नगरपालिकाको समृद्धिको आधार धार्मिक र प्राकृतिक पर्यटकीय स्थल भएकाले यसको एकीकृत विकासका लागि सम्बन्धित मन्त्रालय, विभाग, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइरहेको उहाँले स्पष्ट पार्नु भयो । “तत्काल देवीदहमा डुङ्गा सञ्चालनका लागि पहल थालिने छ,” नगर प्रमुख चौधरीले भन्नु भयो ।