दोलखा समाचारदाता
दोलखा, पुस २४ गते । दोलखामा तिब्बतसँगको सिमाना जोड्ने फलाकसम्म सडक ट्र्याक खोल्न लागिएको छ । बिगु गाउँपालिका र वडा नम्बर १ लामाबगरले २५ लाख रुपियाँको लागतमा ट्र्याक खोल्न लागिएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार डोजर लगाएर हाललाई कच्ची सडक निर्माण गर्न लागिएको हो । सडक बनेपछि लामाबगरबाट सिमानासम्म सिधै यातायात सञ्चालनमा आउने छ ।
यसले लामाबगरमा पनि चहलपहल बढ्ने र व्यापार व्यवसायसमेत हुने अपेक्षा गरिएको छ । यहाँका अति पिछडिएका लप्ची र लुमनाङ गाउँ अब सुगम बन्ने भएका छन् । लामाबगरबाट कठिन भिर छिचोल्दै निजी क्षेत्रले सडक निर्माण गरेपछि यो सम्भव भएको हो । निजी क्षेत्रको दुगड ग्रुप प्रबन्धक रहेको १६० मेगावाटको लप्चीखोला जलविद्युत् आयोजनाले ११ सय मिटरको सुरुङमार्ग, दुई वटा पुलसहित लामाबगरदेखि तामाकोशीसम्म र हुरहुरेमा छ किलोमिटर कठिन भिर छिचोलेर सडक तयार गरिएको हो । खोलामा ३९ मिटर लामो आधुनिक प्रविधिको बेलिब्रिज बनाइएको छ ।
यो पुलबाट अधिकतम क्षमताका सामग्री ढुवानी गर्न मिल्ने छ । लाप्चेखोला जलविद्युत्को प्रवर्धक कम्पनी नासा हाइड्रोले तामाकोशीमा पुल निर्माण गर्न हेलिकोप्टरको प्रयोग गरी डोजर, तेल, ट्याक्टर गाडी ढुवानी गरी चार वर्षदेखि सडक निर्माण गरेको हो । अब थाङ्चेम्बुबाट एक किलोमिटर सडक बनेपछि नेपाल–चीन सिमानाको ५६ नम्बर पिलरसम्म सजिलै पुग्न सकिने छ । थाङ्चेम्बु, लप्ची र लुम्नाङ गाउँको बिचमा पर्ने परम्परागत चौरी खर्क हो । स्थानीय हिउँदमा लुम्नाङ र बर्सातमा लप्चीमा बसोबास गर्छन् ।
लप्ची हजारौँ वर्षदेखिको बौद्धमार्गीको ध्यान केन्द्र हो । अहिले पनि लप्चीका भिरमा ५० भन्दा बढी ध्यान गर्ने गुफा रहेका छन् । यातायात सहज भएपछि लप्चीमा ध्यान गर्न आउनेको लर्को नै लाग्ने वडाध्यक्ष तामाङले बताउनुभयो ।
यातायात सञ्चालनमा आएसँगै यो क्षेत्रमा दुई वटा जलविद्युत् आयोजना निर्माणको काम सुरु हुने छ । नासा हाइड्रोले लप्चीमा १६० मेगावाट क्षमताको लप्चेखोला जलविद्युत् आयोजना निर्माण गर्दै छ । लामाबगरबाट आठ किलोमिटरअगाडि नादिङबाट छुट्टिने गरी जुमखोलाको पानी प्रयोग गरेर सानिमा हाइड्रोले ५६ मेगावाटको सानिमा जुमखोला जलविद्युत् आयोजना निर्माण गर्दै छ ।
सबैभन्दा छोटो त्रिदेशीय मार्ग
नेपाल, भारत र चीन त्रिदेशीय नाकाका रूपमा पनि उत्तर–दक्षिण सबैभन्दा छोटो अर्थात् महोत्तरीको भिट्टामोडदेखि लामाबगरसम्म २६२ किमी सडकमा यातायात सञ्चालन भइरहेको छ । अब १९ किलोमिटर सडक सञ्चालनमा आएपछि २८१ किलोमिटरमा तिब्बत र भारत जोडिने छ । यो सडक तामाकोशी किनारैकिनार सिँगटी जोड्ने अर्को कोरिडोर सडक पनि खुल्दै छ ।