• २४ पुस २०८२, बिहिबार

बागलुङ महोत्सवमा ४२ लाखभन्दा बढीको टिकट बिक्री

blog

मानवसेवा आश्रमलाई चेक हस्तान्तरण गर्नु हुँदै उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्य । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, पुस २३ गते । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । मङ्गलबार राति महोत्सव सम्पन्न भएको घोषणा गर्दै सङ्घका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताउनु भयो ।

महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको सङ्घका पदाधिकारीले प्रारम्भिक तथ्याङ्क दिएका छन् । पुस १६ र १८ गते भएका दुई वटा कन्सर्टको यो अङ्कमा हिसाब नभएको टिकट व्यवस्थापन समितिका संयोजक नविनकुमार श्रेष्ठले जानकारी दिनु भयो । सङ्घले केही समयभित्रै महोत्सवको वास्तविक आयव्याय सार्वजनिक गर्ने कोषाध्यक्ष मनिष राजभण्डारीले बताउनु भयो ।

महोत्सवमा खुला भलिबल प्रतियोगिता, लठ्ठो तान्ने खेल, लोकदोहोरी गीत प्रतियोगिता, व्यापारिक स्टल, रमाइलो मेला, मेड इन बागलुङ अन्तर्गत कृषि तथा लघु घरेलु उद्यमीहरूको उत्पादन प्रदर्शनी समेत गरिएको थियो । त्यसबाहेक महोत्सवमा टिकटक प्रतियोगिता, योजना प्रस्तुतीकरण, विद्यार्थीहरू विभिन्न रचनात्मक कार्यक्रममा सहभागी थिए । 

महोत्सव समापनको अवसरमा बोल्दै बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले महोत्सवले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्धन गर्ने र स्थानीय उत्पादनलाई पनि प्रवर्धन गर्ने बताउनु भयो । ‘‘पहिलाझै महोत्सवमा आम नागरिकको चासो कम भए पनि उहाँहरूलाई उद्यमी, व्यवसायी र सबै क्षेत्रबाट जोडेर लैजान सक्नु पर्छ’’ श्रेष्ठले भन्नु भयो । 

सङ्घले महोत्सव विशेषको रूपमा ‘समृद्विमा हातेमालो’ नामक स्मारिका पनि प्रकाशित गरेको थियो । महोत्सवमा सहयोग गर्ने सबै क्षेत्रलाई सङ्घले सम्मानपत्र प्रदान गरेको छ । मेला सफल पार्न नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सुरक्षा व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालयले भूमिका खेलेको थियो । 

महोत्सवको अवसरमा सङ्घले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासङ्घ बागलुङलाई १ लाख रुपियाँ र टिकट काट्ने काममा साथ दिएको मानवसेवा आश्रमलाई ५ लाख ११ हजार रुपियाँको चेक हस्तान्तरण गरेको छ । मेलामा साथ सहयोग दिने, सहआयोजक, प्रायोजक समेतलाई सङ्घले सम्मान गरेको छ ।