• २४ पुस २०८२, बिहिबार

भोक्टेनीको घर–घरमै खानेपानीको धारा

blog

खानेपानीको धारा खोल्दै भोक्टेनी गाउँकी ज्येष्ठ नागरिक सुशीलाकुमारी श्रेष्ठ र छेउमा वडाध्यक्ष टमबहादुर तामाङ । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस २३ गते । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घर–घरमा खानेपानीको धारा वितरण गरिएको छ ।  

हिउँदमा गाउँका इनार सुक्दा खानेपानीको समस्या भोग्न बाध्य स्थानीय अहिले घरमै खानेपानीको धारा झरेपछि खुसी भएका छन् । मधेश प्रदेश सरकारको ३७ लाख रुपियाँ र हरिवन नगरपालिका–१ कार्यालयको ३३ लाख रुपियाँ लागतमा बोरिङ गाड्ने, ट्रान्सफर्मर राख्ने, पोल गाड्ने र खानेपानीको पाइप विस्तार गर्नेजस्ता काम सम्पन्न गरी सोमबारदेखि धारामा पानी पठाउन सुरु गरिएको हो । 

धारा जडान गरेका प्रत्येक स्थानीयको घरमा खानेपानी झर्न थालिसकेको वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “जजस्ले धारा राखिसक्नु भयो उहाँहरूकोमा पानी झर्न थालिसकेको छ । कतिपयले अहिले धमाधम धारा जडान गर्ने काम गरिरहेका छन् ।”

भोक्टेनी गाउँका २०० बढी घरधुरी खानेपानीबाट लाभान्वित हुने छन् । चैत, वैशाखतिर गाउँमा रहेका इनार सुकेर पिउने पानीका लागि हैरानी खेप्ने स्थानीय अब बोरिङबाट नियमित पानी आउने आसमा रहेका छन् । 

स्थानीय ज्येष्ठ नागरिक सुशीलाकुमारी श्रेष्ठले घरमै खानेपानीको धारा झर्दा सहज भएको भन्दै खुसी व्यक्त गर्नु भयो । “घरमा बुढाबुढी मात्र हुँदा इनारबाट पानी ओसारेर खान समस्या थियो, अब त घरमै धारा आइपुग्यो” श्रेष्ठले भन्नुभयो, “यसैगरी बाह्रैमास पानी आइदिए सुख हुन्थ्यो ।”

उपभोक्ता समितिले खानेपानी प्रयोगबापत उपभोक्ताबाट तत्काल एक महिनाका लागि कुनै शुल्क नलिने निर्णय गरेको छ । त्यसपछि समितिको बैठक बसेर न्यूनतम शुल्क उठाउने तयारी गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले जानकारी दिनु भयो । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष साहका अनुसार उपभोक्तालाई आफ्नो घरमा खानेपानीको धारा जडान गर्दा लाग्ने ज्याला र सामग्रीको आठ हजार २०० रुपियाँमध्ये वडा कार्यालयले दुई हजार रुपियाँ तिरिदिएको छ । साहले भन्नु भयो, “बाँकी ६ हजार २०० रुपियाँ उपभोक्ताले तिरेर धारा राखिरहनु भएको छ ।”

गाउँमा खानेपानी वितरणका लागि बोरिङ गाड्न, ट्रान्सफर्मर र मिटर राख्न स्थानीय वडा सदस्य उदयनारायण ठाकुर र अर्का स्थानीय हरि ठाकुरले जग्गा प्रदान गर्नु भएको छ । उहाँहरूले खानेपानीका लागि तीन कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउनु भएको उपभोक्ता समितिका अध्यक्ष साहले बताउनु भयो ।