सुधा देव
भारदह(सप्तरी),पुस २३ गते । सप्तरीका विष्णुपुर गाउँपालिका-५ का ४० वर्षीया प्रभु मण्डललाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । सरस्वती पूजा नजिकिँदै गएपछि उहाँलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
विद्याकी देवी सरस्वती पूजा नजिकिपछि पछिल्लो १५ दिन यता उहाँको दिनचर्या मूर्ति बनाएरै बित्ने गरेको छ । हाल उहाँ राजविराज-७ स्थित शिव मन्दिरको अगाडि मूर्ति बनाउन व्यस्त रहँदै आउनु भएको छ ।
अहिले मूर्ति बनाउने व्यस्तता बढे पनि वर्ष भरि यहि काम गरेर गुजारा गर्दै आएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, मूर्ति बनाएरै ६ जना परिवारको गुजारा गर्दै आएको छु । दुई दशकअघि भारतको सिलिगुडीबाट माटोको मूर्ति बनाउने कला सिकेर आएपछि यहीँ पेसामा निरन्तर लागेर जीविकोपार्जन गर्दै आएको उहाँले बताउनु भयो ।
संस्कृति चाँडपर्वको धनी मधेशमा मूर्ति बनाउने कामबाट कहिले फुर्सद नहुने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, विजयादशमी, दिपावली, छठ, सरस्वती पुजा, विश्वकर्मा पूजा, रामनवमी, चैते दशैँ, कृष्णअष्टमी लगायतको चाडपर्वमा माटोको मूर्ति बनाउँदै आएको छु ।
दशैं, दिपावली, कृष्णााअष्टमी, चैते दशैंंमा अडर अनुसार घर वा मन्दिरमा गएर बनाउने र एक ठाउँको मात्र ३५ देखि ५० हजार लिने गरेको उहाँले बताउनु भयो । दुई जना मिलेर एउटा चाँडपर्वमा दस ठाउँसम्म बनाउन भ्याउने गरेको उहाँको सहयोगी रामलाल मण्डलले बताउनु भयो ।
घर र मन्दिरमा माटोको मूर्ति बनाउँदा एक सिजनमा ४ लाख देखि ५ लाख आम्दानी हुँदै आएको उहाँले बताउनु भयो । सरस्वती पूजा लगायतमा २ देखि ३ लाख आम्दानी हुँदै आएको उहाँले बताउनु भयो ।
यसपालि सरस्वती पूजाका लागि १ सय वटा मूर्ति बनाएको र कम्तीमा २ हजार ५ सय र बढीमा १० हजारसम्ममा प्रतिमूर्ति बेच्दै आएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, सबैभन्दा बढी १० हजार मूल्य पर्ने ४ वटा मूर्ति बनाएको छु । मूर्ति र आकार र डिजाइन अनुसार मूल्य हुन्छ । बनाएको अधिकांश मूर्तिको एडभान्स आउने क्रम जारी रहेको उहाँले बताउनु भयो ।
नबिकेको मूर्ति के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने पूजा गरेर सेलाई दिन्छु । मूर्तिका बनाउनका लागि माटो भने नदीबाट ल्याउने गरेको उहाँले बताउनु भयो ।
मूर्ति बनाउने दर्जनौं कलाकार रहेको यस जिल्ला सरस्वती पूजा नजिकिँदै जाँदा राजविराज नगरपालिका सहित जिल्लाको विभिन्न पालिकाको विभिन्न स्थानमा कलाकारहरूको मूर्ति बनाएर बिक्री वितरण गर्दै आएका छन् ।
सप्तरीको अधिकारकर्मीको रूपमा परिचित अधिकारकर्मी विष्णु पोखरेलले हाम्रो देशका यस्ता मिहिनेति कलाकारको परिश्रमको सम्मान गरी व्यावसायिक रूपमा स्थापित हुन थप सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
सरस्वती पूजाको १०-१५ दिन अगाडि मूर्ति छान्ने, एडभान्स दिने र सरस्वती पूजाको अघिल्लो दिन पूरा रकम तिरेर पूजा गर्ने स्थानमा मूर्ति लगेर राख्ने चलन रहेको स्थानीय मनु खनालले बताउनु भयो ।
मधेशसहित जिल्लामा विद्यालय शैक्षिक संस्थानहरूमा मात्र नभएर टोलमा पैसा उठाएर समूहमा तथा घरघरमा समेत विद्याकी देवी सरस्वतीको धुमधामले पूजा गर्ने चलन रहेको छ ।