जीवछ यादव
लहान, पुस २३ गते । लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ ।
लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीको अनुसार मातृ स्वास्थ्य अन्तर्गत लहान नगरपालिका स्वास्थ्य संयोजक समेत रहनु भएको नगर प्रमुख महेशप्रसाद चौधरी निर्वाचित भएर आएपछि वितरण गर्न थालिएको पोषण प्याकेज कार्यक्रम सुरुमा प्रचारात्मक मात्रै भएको बुझिएका घर परिवार समाज र सुत्केरी तथा गर्भवती महिलाले समेत चासो लिन थालेको सुनाउनु भयो ।
‘‘सुरुमा अरुचि राख्नेहरू अब यस कार्यक्रममा जोडिएर सचेत हुन थालेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वयमसेविकाहरूको भूमिका राम्रो छ’’ उहाँले भन्नु भयो ।
गर्भवती भएपछि नै नियमित जाँच गराउनु पर्ने, गर्भधारण गरेपछि नियमित स्वास्थ्य चौकीमा आई जचाउने आइरन चक्की लिइने गर्भमा बच्चाको अवस्था कस्तो रहेको लगायतको सेवासँग जोडन लहान नगरपालिकाले १० किलो चामल, एक किलो दाल, दुई किलो गेडागुडी, एक लिटर तेल र एक किलो नुनको प्याकेज बनाएर लहान नगरपालिकाले वितरण गर्दै आएको छ ।
कार्यक्रमबाट निकै लाभान्वित र प्रभावित भएको पोषण प्याकेज लिन आएका महिलाले बताउनु भयो । अब गर्भवति र सुत्केरी महिलाहरू स्वास्थ्य चौकीसम्म मात्रै आउने गरेको छैन मोवाइल नम्बरमा समेत स्वस्थ्य मातृत्वका लागि सल्लाह लिन थालिएको स्वास्थ्य शाखाका वरिष्ट महिला अनमी रीता यादवले बताउनु भयो ।