बुटवल समाचारदाता
बुटवल (रुपन्देही), पुस २३ गते । बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् । त्यसै गरी स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई थप उपचार गर्नुपर्ने भएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाउनेसमेत गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले गत महिनादेखि थालेको यो अभियानबाट बुटवलका विभिन्न वडाका गरी दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका छन् । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले बुटवलका १ देखि १९ वटै वडामा यो कार्यक्रम जारी रहेको र सबै वडामा सेवा पु¥याउने जानकारी दिनुभयो ।
आइतबार र सोमबार मात्रै बुटवल वडा नं. १८ मा १८० जना र वडा नं. १९ मा १४४ जना गरी ३२४ जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ज्येष्ठ नागरिकलाई अस्पतालमा लामो समय लाइन लागेर उपचार गर्न नपरोस् र उनीहरूले सहज रूपमा स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले उपमहानगरपालिकाले बाआमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले अब वर्षमा दुई पटक यस्तैखाले शिविर सञ्चालन गर्ने गरी कानुनी प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । हिँड्डुल गर्न नसक्ने तथा अशक्त ज्येष्ठ नागरिकलाई यातायातको व्यवस्था गरेर शिविरसम्म ल्याउने तथा शिविरमा आउन नसक्नेलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
बुटवल तामनगरका ज्येष्ठ नागरिक रमेशप्रसाद रिजालले बुटवल उपमहानगरले सञ्चालन गरेको यो कार्यक्रमबाट घरमै उपचार सेवा पाएको भन्दै खुसी प्रकट गर्नुभयो । सेमलारका ज्येष्ठ नागरिक गङ्गा शाहीले गाउँघरमै स्वास्थ्य जाँच र निःशुल्क औषधीको व्यवस्था मिलाइएको भन्दै यो कार्यक्रमले पैसा नभएर उपचार नपाएका ज्येष्ठ नागरिकलाई सुविधा पुगेको बताउनुभयो ।