विकास अधिकारी
पश्चिम नवलपरासी, पुस २३ गते । पश्चिम नवलपरासीको नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्ता बचाउन स्थानीयले सरकारसँग आग्रह गरेका छन् । विभिन्न समस्याले जकडिएको सुस्ता क्रमशः सुगम बन्दै गए पनि वर्षायाममा नारायणी नदीको धार सुस्तातर्फ सोझिएपछि सुस्तावासी चिन्तित बन्दै आएका छन् ।
भदौमा बल्लतल्ल बोरामा बालुवा भरेर सुस्तालाई कटानबाट जोगाएका स्थानीयले आउने वर्षायामअगावै बाढी नियन्त्रणको काम नगरे सुस्ता नै नारायणीको भेलमा बग्ने खतरा
रहेको बताएका छन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले उचाइ बढाएर बलियो तटबन्ध लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणीको भेल सिधै सुस्तातर्फ सोझिने गरेको छ । यो हिउँदमै बलियो तटबन्ध निर्माण नगरे सुस्ताको नाम मात्र बाँकी रहन्छ, भूमि सबै बग्छ ।”
भारतले विवादित भनेर जोतभोग गर्न नदिएको भूभागसमेत नारायणी नदीले कटान गर्दै गएपछि सकिन लागेको छ । सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष मुन्ना खाँले विवादित भनिएको १९ हजार पाँच सय हेक्टरमध्ये अहिले एक चौथाइ भाग मात्र बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निकै दुःखद कुरा हो, नदी नियन्त्रणको काम गर्न सरकारले चासो नदिँदा सुस्तावासीको लालपुर्जा भएको जमिन क्रमशः बगरमा परिणत भएको छ ।”
वर्षायाममा तीन दिनसम्म जाग्राम बसेर सुस्तावासीले बाढी नियन्त्रणको काम गरेका थिए । सुस्ताको झोलुङ्गे पुलदेखि पूर्वतर्फ तटबन्ध निर्माणको काम थालिए पनि पूरा भएको छैन । झन्डै तीन किलोमिटर लामो तटबन्ध निर्माण गर्नुपर्ने भएको छ । लामो समयदेखि सुस्ता बचाउ अभियानमा सक्रिय नुरजहाँ बेगम ‘लैला’ ले नागरिकता, लालपुर्जाका समस्याले दैनिकी चलाउनै कठिन भएका बेला नदी नियन्त्रणको विषयले चिन्तित बनाएको बताउनुभयो । आँखाभरि आँसु बनाउँदै लैलाले भन्नुभयो, “यो वर्षायामअगाडि तटबन्ध नबनाए सुस्ता बगेर जान्छ, धेरै वर्षदेखि सुस्ताको रक्षाका लागि सिमानामा खटिएको अर्थ रहँदैन ।”
केही दिनअगाडि सुस्ता पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सुस्ताको नदी नियन्त्रणका लागि तत्कालै बजेट निकासा गर्ने आश्वासन दिनुभएको थियो । प्रवक्ता जयसवालले केही दिनभित्रै काम सुरु गर्ने गरी बजेट निकासा हुने मन्त्री घिसिङबाट आश्वासन पाएको जानकारी दिनुभयो ।
सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिनमध्ये १४ हजार पाँच सय हेक्टर भारतीय अतिक्रमण परेको छ भने अहिले सुस्तावासीले सात हजार पाँच सय हेक्टर मात्र भोगचलन गर्दै आएका छन् । १९ हजार पाँच सय हेक्टर जमिनलाई भारतले विवादित भन्दै नेपालीलाई उपभोग गर्न दिएको छैन । सुस्तामा पुग्न अहिले नेपालकै सबैभन्दा लामो एक हजार ५७१ मिटर लामो पुल निर्माण भएपछि सहज भएको छ ।